काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले उद्योगी तथा पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेको विषयमा गम्भीर चासो व्यक्त गरेको छ। नाडाले प्रेस विज्ञप्ति जारी गर्दै उहाँलाई पक्राउ नगरी निष्पक्ष छानबिन प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेको हो।
नाडाले विज्ञप्तिमा दोषी प्रमाणित नभएसम्म कुनै पनि प्रतिष्ठित नागरिकको आत्मसम्मान र व्यवसायिक प्रतिष्ठाको संरक्षण गर्नु राज्यको दायित्व हुने उल्लेख गरेको छ। साथै, अनुसन्धान प्रक्रियामा शेखर गोल्छाले पूर्ण सहयोग गर्नेमा आफूहरू विश्वस्त रहेको नाडाको भनाइ छ।
नाडाले निजी क्षेत्रलाई सुरक्षित र सम्मानित वातावरण प्रदान गर्दै मुलुकको आर्थिक समृद्धिमा सहकार्य गर्न सरकारसँग जोडदार माग गरेको छ। संगठनका अनुसार गोल्छाको पक्राउले समग्र उद्योगी व्यवसायीहरूमा नकारात्मक सन्देश गएको छ।
विज्ञप्तिमा भनिएको छ, “शेखर गोल्छाले निजी क्षेत्रलाई नयाँ दिशा दिन र देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ। यस्तो गरिमामय व्यक्तित्वमाथि कुनै पनि अन्यायपूर्ण व्यवहारले उद्योगी समुदायमा नकारात्मक प्रभाव पार्छ।”
नाडाले सत्यतथ्य छानबिन आवश्यक रहेकोमा जोड दिँदै राज्यको अनुसन्धान प्रक्रियामा निजी क्षेत्र सधैं सहयोगी रहेको र आगामी दिनमा पनि रहने स्पष्ट पारेको छ।
त्यसैगरी, अनुसन्धानका नाममा हठात् पक्राउ वा थुनामा राख्ने कार्यले लगानीकर्ताको आत्मविश्वास कमजोर हुने नाडाको भनाइ छ। यस्ता घटनाले स्वदेशी तथा विदेशी लगानीकर्तामा त्रासको वातावरण सिर्जना गर्न सक्ने र सरकारले अघि सारेको “लगानीमैत्री नेपाल” को अवधारणालाई समेत कमजोर बनाउने चेतावनी दिइएको छ।
नाडाले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यसको व्यवसायिक सुरक्षा र हकहितप्रति सधैं प्रतिबद्ध रहने बताएको छ। संगठनले हालका घटनाक्रम र पूर्व अध्यक्ष शेखर गोल्छासम्बन्धी विषयमा गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।
नाडाले शेखर गोल्छालाई नेपालको औद्योगिक तथा व्यवसायिक क्षेत्रका सम्मानित व्यक्तित्वका रूपमा स्मरण गर्दै उहाँको नेतृत्वले निजी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ।
