काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले उत्पादनशील क्षेत्र विशेषगरी कृषि क्षेत्रमा कर्जा प्रवाहलाई प्राथमिकतामा राख्दै उल्लेखनीय लगानी विस्तार गरेको छ। बैंकले २०८२ चैत मसान्तसम्म कृषि क्षेत्रमा ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।
बैंकले आधार दरमा न्यूनतम प्रिमियम जोडेर सस्तो ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउँदै आएको छ। साथै, कृषक तथा कृषि उद्यमीलाई आकर्षित गर्न कृषि सम्बन्धी कर्जामा प्रशोधन शुल्कमा समेत छुट सुविधा प्रदान गरिएको छ।
कुखुरापालन, बाख्रापालन, गाईभैंसीपालन तथा माछापालन जस्ता विभिन्न कृषि परियोजनामा लगानी गर्दै आएको बैंकले पछिल्लो समय प्रदेशगत प्राथमिकताअनुसार कृषि उत्पादनलाई जोड दिँदै आएको छ। यसअन्तर्गत ४.७५ प्रतिशत ब्याजदरमा अधिकतम ५ करोड रुपैयाँसम्मको ‘प्रदेश विशेष कृषि कर्जा’ प्रदान गरिँदै आएको छ।
त्यस्तै, स्थानीय साना कृषकलाई लक्षित गर्दै कुनै पनि प्रशोधन शुल्क नलिई ४.७५ प्रतिशत ब्याजदरमै १० लाख रुपैयाँसम्मको ‘साना किसान सरल कर्जा’ उपलब्ध गराइएको छ। साथै किसानहरूका लागि ‘किसान क्रेडिट कार्ड’ सुविधा पनि सञ्चालनमा रहेको छ।
कृषि कर्जा प्रवाहलाई व्यवस्थित बनाउन बैंकले छुट्टै कृषि कर्जा नीति तथा कार्यविधि लागू गरेको छ। यस क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि केन्द्रीय कार्यालयमा कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरिएको छ।
बैंकले कृषि क्षेत्रमा दक्ष जनशक्ति परिचालन गर्दै विभाग, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमार्फत सेवा विस्तार गरेको छ। ७७ वटै जिल्लामा रहेका ३१४ शाखामार्फत कृषि कर्जा प्रवाह गर्दै ग्रामीण कृषकसम्म वित्तीय पहुँच सुनिश्चित गरिएको बैंकले जनाएको छ। साथै, समय–समयमा वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरी कृषकलाई कर्जा सम्बन्धी जानकारी पनि दिँदै आएको छ।
परम्परागत निर्वाहमुखी कृषिबाट व्यवसायिक कृषितर्फ रूपान्तरण गर्ने सरकारी नीति अनुरूप बैंकले कृषि यान्त्रिकीकरण, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा योगदान दिँदै आएको छ।
यस लगानीले कृषि आधुनिकीकरणसँगै उत्पादन तथा उत्पादकत्व वृद्धि, स्वरोजगार, आय वृद्धि र मूल्य शृंखला विकासमा सकारात्मक प्रभाव पारिरहेको बैंकले जनाएको छ।
