काठमाडौँ । यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा पुनः समायोजन गरेको छ। विभागले बुधबारदेखि लागू हुने गरी अन्तरप्रदेश सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनहरूको भाडा ५ प्रतिशतले वृद्धि गरेको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वैशाख १२ गते दिएको सैद्धान्तिक सहमतिपछि विभागले यो निर्णय कार्यान्वयन गरेको जनाएको छ।
नयाँ व्यवस्था अनुसार अन्तरप्रदेश चल्ने यात्रुवाहक सवारी साधन, पहाडी मार्गमा सञ्चालन हुने मालवाहक सवारी तथा तराई क्षेत्रमा चल्ने मालवाहक सवारी साधनमा समान ५ प्रतिशत भाडा वृद्धि गरिएको छ।
यसअघि गत चैत २५ गते मात्रै भाडा समायोजन गरिएको थियो, तर एक महिनाभित्रै पुनः भाडा बढाइएको हो।
विभागका अनुसार हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ पुगेको छ, जसलाई आधार मान्दै भाडा समायोजन गरिएको हो।
यद्यपि, यो भाडा वृद्धि विद्युतीय सवारी साधनमा लागू हुने छैन। विभागले विद्युतीय सवारीले भाडा बढाएको पाइएमा कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।
