ट्रम्प अंकित विशेष पासपोर्ट तयारी

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले आफ्नो स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित विशेष पासपोर्ट जारी गर्ने तयारी गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीका अनुसार वासिङ्टनस्थित पासपोर्ट एजेन्सीबाट व्यक्तिगत रूपमा पासपोर्ट नवीकरण गर्ने सेवाग्राहीहरूका लागि मात्र यो विशेष डिजाइनको पासपोर्ट उपलब्ध हुनेछ।

नयाँ पासपोर्टको भित्री कभरमा राष्ट्रपति ट्रम्पको तस्बिर तथा सुनौलो अक्षरमा उनको हस्ताक्षर रहनेछ। विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले जुलाईमा मनाइने अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसलाई स्मरण गर्दै सीमित संख्यामा यो विशेष पासपोर्ट जारी गरिने जानकारी दिएका छन्।

उनका अनुसार पासपोर्टमा सुरक्षाका सबै अन्तर्राष्ट्रिय मापदण्ड कायम राख्दै विशेष कलाकृति र ऐतिहासिक चित्रहरू समावेश गरिनेछ।

अनलाइन वा अन्य माध्यमबाट पासपोर्ट नवीकरण गर्ने सेवाग्राहीका लागि भने पुरानै डिजाइन कायम रहनेछ। नयाँ डिजाइन आगामी गर्मी मौसमदेखि लागू हुने बताइएको छ, तर उत्पादन संख्या भने अझै सार्वजनिक गरिएको छैन।

यसअघि अमेरिकी पासपोर्टको भित्री कभरमा राष्ट्रगानका लेखक फ्रान्सिस स्कट कीको चित्र र राष्ट्रगानका शब्दहरू रहने गरेका थिए। नयाँ डिजाइनमा पछिल्लो भागमा जोन ट्रम्बुलद्वारा बनाइएको “स्वतन्त्रताको घोषणा” चित्र रहनेछ।

स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेशनल पार्क पास र विशेष सिक्कामा पनि ट्रम्पको तस्बिर प्रयोग गर्ने निर्णय भइसकेको छ। अन्तर्राष्ट्रिय रूपमा १० वर्षसम्म मान्य हुने पासपोर्टमा यस्तो परिवर्तनलाई महत्वपूर्ण सांस्कृतिक तथा राजनीतिक प्रतीकका रूपमा हेरिएको छ।