वैदेशिक रोजगारी ठगीमा प्रहरी सक्रिय, सात अभियुक्त पक्राउ

  • Clock icon
    २०८३ बैशाख १८, शुक्रबार

काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले जापान, कोरिया, अमेरिका लगायतका देशमा राम्रो तलब हुने रोजगारी मिलाइदिने भन्दै ४५ जना पीडितबाट कुल ३ करोड १४ लाख रुपैयाँ ठगी गरेका छन्।

पक्राउ पर्नेहरूमा तेह्रथुमका सुरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्री रहेका छन्।

अनुसन्धानका क्रममा अभियुक्त सुरज लिम्बू र कमलबहादुर मगरले जापान पठाइदिने भन्दै ११ जनाबाट १ करोड २ लाख रुपैयाँ असुलेको खुलेको छ। त्यस्तै, विनोद थापाले कोरिया पठाउने प्रलोभनमा २६ जनाबाट १ करोड ५० लाख रुपैयाँ ठगी गरेका छन्।

यसैगरी, सागर शेर्पाले फ्रान्स पठाइदिने भन्दै पाँच जनाबाट २८ लाख रुपैयाँ उठाएका छन् भने सरोज गौतमले एक जनाबाट २७ लाख रुपैयाँ असुलेको प्रहरीको भनाइ छ।

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, वैदेशिक रोजगारीको नाममा हुने यस्ता ठगीबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गर्दै आधिकारिक प्रक्रिया र स्वीकृत संस्थामार्फत मात्र विदेश जान सुझाव दिएको छ।

  • Clock icon
    २०८३ बैशाख १८, शुक्रबार