काठमाडौं । सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारलाई लक्षित गर्दै “रेमिटमा लाभ” नामक विशेष उपभोक्ता अभियान औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ। कम्पनीका अनुसार यो पहल रेमिट्यान्सलाई केवल आर्थिक सहयोगमा सीमित नराखी जीवनस्तर सुधार गर्ने अवसरमा रूपान्तरण गर्ने उद्देश्यले ल्याइएको हो।
सामसङले रेमिट्यान्सलाई त्याग, आकांक्षा र जिम्मेवारीको प्रतीकका रूपमा बुझ्दै यस अभियानमार्फत प्रविधिमा पहुँच विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ। यसअन्तर्गत रेमिट्यान्समा आधारित परिवारहरूलाई प्रिमियम प्रविधि सामग्री सहज र किफायती रूपमा उपलब्ध गराउन विभिन्न विशेष अफरहरू प्रस्तुत गरिएको छ।
अभियानअन्तर्गत ग्राहकहरूले स्मार्टफोन, टेलिभिजन, रेफ्रिजेरेटर र वासिङ मेसिन जस्ता सामसङका उत्पादनहरूमा अधिकतम ६ प्रतिशतसम्म क्यासब्याक सुविधा पाउनेछन्। साथै, एनसेल रिचार्जमा अधिकतम १८० जीबीसम्म बोनस डेटा उपलब्ध हुनेछ भने २४ महिनासम्मको किस्ता सुविधाले खरिद प्रक्रियालाई अझ सहज बनाउने लक्ष्य राखिएको छ।
यी सुविधाहरूले परिवारहरूको मासिक आर्थिक भार कम गर्दै गुणस्तरीय प्रविधिमा पहुँच बढाउने कम्पनीको विश्वास छ।
अभियानलाई आइएमई रेमिट, खल्ती, एनसेल, एचएफएल, हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापार लिमिटेडसँगको सहकार्यमा सञ्चालन गरिएको छ। यस सहकार्यले देशभर ग्राहकहरूको पहुँच, किफायतीपन र डिजिटल कनेक्टिभिटीलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।
अफर उपयोग गर्न ग्राहकहरूले आइएमई रेमिटमार्फत रेमिट्यान्स प्राप्त गरी कन्ट्रोल नम्बर सहित आधिकारिक स्टोरमा जानुपर्नेछ। त्यसपछि आफूले चाहेको उपकरण छनोट गरी एचएफएलमार्फत ऋण आवेदन गर्न सकिनेछ। सामसङ स्मार्टफोन खरिद गर्दा एनसेल प्याकमार्फत बोनस डेटा प्राप्त हुनेछ भने खल्तीमार्फत क्यासब्याक सुविधा उपलब्ध गराइनेछ।
अभियानको उद्घाटन अवसरमा सामसङ नेपालका मोबाइल व्यवसायका वरिष्ठ निर्देशक प्रणय रत्न स्थापितले रेमिट्यान्सलाई नेपालीहरूको आशा र आकांक्षाको प्रतीक भएको उल्लेख गर्दै यसलाई अर्थपूर्ण प्रगतिमा रूपान्तरण गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको बताए। उनले किफायतीपन, नवप्रवर्तन र कनेक्टिभिटीमार्फत प्रविधिलाई अझ पहुँचयोग्य बनाउने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीका अनुसार यो अफर विशेषगरी आइएमई रेमिटमार्फत कारोबार गर्ने रेमिटरहरू र उनीहरूका आश्रितहरूका लागि उपलब्ध हुनेछ।
