काठमाडौं । नेपालको वित्तीय बजार सुस्त भए पनि फाइनान्स कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२ को चैत मसान्तसम्म उल्लेखनीय सुधार देखाएका छन्। कुल १५ वटा फाइनान्स कम्पनीहरूको समग्र खुद नाफा २७१.२२ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्ष २०८१ को चैत मसान्तसम्म १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ मात्र रहेको कुल नाफा यस वर्ष बढेर ७० करोड ४० लाख ४६ हजार रुपैयाँ पुगेको छ। यसले फाइनान्स क्षेत्र क्रमशः मजबुत बन्दै गएको संकेत गरेको छ।
समग्र वित्तीय विवरणअनुसार अधिकांश कम्पनीहरूले गत वर्षको घाटालाई नाफामा रूपान्तरण गर्न सफल भएका छन्। तर केही कम्पनी अझै पनि घाटामा रहेका छन्, जसले यस क्षेत्रमा जोखिम पूर्ण रूपमा अन्त्य नभएको देखाएको छ।
नाफा सूचीमा मञ्जुश्री फाइनान्स शीर्ष स्थानमा रहेको छ। यसले २१ करोड ८९ लाख १० हजार रुपैयाँ खुद नाफा कमाउँदै बजारमा अग्रस्थान कायम राखेको छ।
दोस्रो स्थानमा गोर्खाज फाइनान्स रहेको छ, जसले १२ करोड ९४ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष ६ करोड २१ लाख ८२ हजार रुपैयाँ घाटामा रहेको यो कम्पनी यस वर्ष नाफामा फर्कन सफल भएको हो।
त्यस्तै, आईसीएफसी फाइनान्सले १० करोड ३१ लाख २२ हजार रुपैयाँ र गुडविल फाइनान्सले १० करोड १३ लाख ३६ हजार रुपैयाँ नाफा कमाएका छन्।
सबैभन्दा कम नाफा कमाउनेमा समृद्धि फाइनान्स रहेको छ, जसले ७ लाख ४० हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको छ। यद्यपि, गत वर्षको घाटाबाट नाफामा आउनु यसको लागि सकारात्मक संकेत मानिएको छ।
मल्टिप्रपोज फाइनान्सले ५३ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ भने नेपाल फाइनान्स ७ करोड ८६ लाख २५ हजार रुपैयाँ घाटामा रहेको छ। यसैगरी, जानकी फाइनान्स २ करोड ९० लाख ८९ हजार रुपैयाँ र प्रोग्रेसिभ फाइनान्स २ करोड ४७ लाख ४३ हजार रुपैयाँ घाटामा रहेका छन्।
वृद्धिदरको हिसाबले गुडविल फाइनान्स सबैभन्दा अगाडि देखिएको छ, जसले ५६५.७२ प्रतिशतको उल्लेखनीय वृद्धि हासिल गरेको छ। गोर्खाज फाइनान्स ३०८ प्रतिशत, वेस्ट फाइनान्स १७८ प्रतिशत, रिलायन्स फाइनान्स १२१.६९ प्रतिशत र सेन्ट्रल फाइनान्स ११७.५८ प्रतिशत वृद्धिसहित सकारात्मक प्रदर्शनमा रहेका छन्।
तर नेपाल फाइनान्सको अवस्था भने चिन्ताजनक देखिएको छ। गत वर्ष नाफामा रहेको यो कम्पनी यस वर्ष ४ हजार ७२५ प्रतिशतले घट्दै ठूलो घाटामा पुगेको छ। साथै, मल्टिप्रपोज र श्री इन्भेस्टमेन्ट फाइनान्सको नाफामा पनि उल्लेख्य गिरावट आएको छ।
समग्रमा चैत मसान्तसम्मको वित्तीय तथ्याङ्कले फाइनान्स क्षेत्रभित्र ठूलो परिवर्तन भइरहेको देखाएको छ। कतिपय कम्पनीको सुधार उत्साहजनक भए पनि केही कम्पनीको कमजोर प्रदर्शनले आगामी दिनमा मर्जर र वित्तीय सुधार आवश्यक हुने संकेत दिएको छ।
