उज्यालो चक्रपथ विस्तार अघि बढ्दै

  • Clock icon
    २०८३ बैशाख १८, शुक्रबार

काठमाडौँ । उपत्यकाको प्रमुख जीवनरेखा मानिने चक्रपथ विस्तार दोस्रो चरणमा प्रवेश गरेसँगै अब यसको स्वरूप पूर्ण रूपमा आधुनिक बन्ने भएको छ। नेपाल र चीन बीच भएको नयाँ समझदारीअनुसार करिब १२ अर्ब रुपैयाँभन्दा बढी चिनियाँ अनुदान सहयोगमा कलङ्कीदेखि वसुन्धारासम्मको ८.२ किलोमिटर सडकखण्ड आठ लेनमा विस्तार गरिनेछ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चिनियाँ राजदूतबीच भएको समझदारीपछि परियोजना औपचारिक रूपमा अघि बढ्ने भएको हो। पहिलो चरणको कलङ्की–कोटेश्वर खण्डमा देखिएका ढिलाइ, डिजाइन त्रुटि र साइट क्लियरन्सका समस्याबाट पाठ सिक्दै यस पटक कार्यान्वयनलाई छिटो र व्यवस्थित बनाउने तयारी गरिएको छ।

यसपटक नेपालले प्रारम्भिक रूपमा जमिन खाली गर्ने सबै काम पूरा गरिसकेको छ। अब चिनियाँ प्राविधिक टोलीले विस्तृत प्रतिवेदन तयार पारी निर्माण प्रक्रिया अघि बढाउनेछ। सम्झौता अनुसार नेपालले नगद रकम प्राप्त गर्ने छैन, सम्पूर्ण निर्माण कार्य चिनियाँ पक्षले सम्पन्न गरी सडक हस्तान्तरण गर्नेछ।

परियोजनाअन्तर्गत आधुनिक सडक बत्ती, आकाशेपुल, र पैदलयात्रीमैत्री संरचना थपिने छन्। पहिलो चरणमा देखिएको पैदलयात्री सुरक्षाको कमीलाई यस पटक प्रमुख सुधारको रूपमा समेटिएको छ।

कलङ्की देखि वसुन्धारा खण्डको सेवा लेन निर्माण ७५ प्रतिशत पूरा भइसकेको छ। सेवा लेन तयार भएपछि मुख्य एक्सप्रेस–वे निर्माण सुरु गरिनेछ। अन्य भागहरूमा पनि नेपालले आफ्नै स्रोतबाट विस्तार कार्य अघि बढाइरहेको छ, जसमा महाराजगञ्ज देखि सुकेधारा क्षेत्रका केही खण्ड सम्पन्न भइसकेका छन्।

तर चाबहिल देखि कोटेश्वर सम्मको खण्ड अझै चुनौतीपूर्ण मानिएको छ। घना बस्ती, धार्मिक सम्पदा र विमानस्थल सुरक्षा संवेदनशीलताका कारण यहाँ सडक विस्तार जटिल देखिएको छ। विज्ञहरूले यस क्षेत्रमा भूमिगत सडक वा फ्लाइओभरजस्ता विकल्पबारे सुझाव दिएका छन्।

सन् १९७७ मा पहिलो पटक चीनकै सहयोगमा बनेको चक्रपथले झण्डै पाँच दशकपछि फेरि नयाँ स्वरूप लिन लागेको हो। दुवै देशले यस परियोजनालाई द्विपक्षीय सहकार्यको महत्वपूर्ण उपलब्धि भन्दै आगामी दिनमा उपत्यकाको यातायात व्यवस्थापनलाई सहज बनाउने अपेक्षा गरेका छन्।

  • Clock icon
    २०८३ बैशाख १८, शुक्रबार