विराटनगरमा महिला नेतृत्वको नयाँ ऊर्जा

  • Clock icon
    २०८३ बैशाख १८, शुक्रबार

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले राष्ट्रिय स्तरको ‘महिला नेतृत्व सम्मेलन २०२६’ को सम्पूर्ण तयारी पूरा गरेको छ। यो सम्मेलन आगामी वैशाख २१ गते (मे ४) विराटनगर मा आयोजना गरिने भएको हो।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा सीएनआईले कार्यक्रमका लागि आवश्यक सबै व्यवस्थापकीय तथा विषयगत तयारी सम्पन्न भएको जानकारी दिएको छ। सम्मेलनलाई देशभरका महिला नेतृत्व, उद्यमशीलता र आर्थिक सहभागिता प्रवर्द्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिइएको छ।

सीएनआई अध्यक्ष बिरेन्द्रराज पाण्डे ले महिलाको सक्रिय सहभागिता बिना नेपालको आर्थिक वृद्धि सम्भव नहुने स्पष्ट पारे। उनले नेपाललाई ४५ अर्ब डलर अर्थतन्त्रबाट १०० अर्ब डलरको स्तरमा पुर्‍याउन श्रमशक्ति विस्तार, मानव पूँजी विकास र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताए।

उनका अनुसार, “औसत ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न श्रमशक्तिको दायरा विस्तार गर्नुपर्छ। वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकसँगै महिलाको सक्रिय सहभागिता अनिवार्य छ।”

यो सम्मेलन कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजना हुँदैछ। सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले गर्ने कार्यक्रम रहेको छ।

“कृषि, सीप, सिर्जना र डिजिटल नवप्रवर्तनमार्फत दिगो समृद्धि” भन्ने मूल नाराका साथ सम्मेलनमा महिलाको नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन र स्थानीय स्रोतको उपयोगमार्फत व्यवसाय विस्तार जस्ता विषयमा छलफल हुनेछ।

सम्मेलनका मुख्य आकर्षणमा सफल महिला उद्यमीका प्रेरणादायी अनुभव, डिजिटल भुक्तानी प्रणाली (जस्तै फोनेपे) सम्बन्धी अन्तरक्रिया, स्वदेशी उत्पादनहरूको प्रदर्शनी तथा उद्यमी, नीति निर्माता र निजी क्षेत्रबीच नेटवर्किङ कार्यक्रम समावेश छन्।

सीएनआई महिला नेतृत्व फोरमकी सदस्य तथा सांसद बिदुषी राणा का अनुसार, फोरमले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका सम्मेलनहरू आयोजना गर्दै आएको छ। यस वर्षको राष्ट्रिय सम्मेलनका लागि विराटनगरलाई रणनीतिक केन्द्रका रूपमा छनोट गरिएको हो, जसले प्रदेशस्तरको नेतृत्व विकास र अनुभव आदानप्रदानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

  • Clock icon
    २०८३ बैशाख १८, शुक्रबार