रोल्पा जीप दुर्घटनाप्रति रास्वपाको दुःख व्यक्त, सुधारका लागि प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पामा भएको जीप दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै रास्वपाले गत वैशाख १७ गते रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका-जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटनामा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

प्राप्त विवरणअनुसार उक्त जीप रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ को भिरालो क्षेत्रमा करिब ७००-८०० मिटर तल खसेको थियो, जसबाट ठूलो मानवीय क्षति भएको बताइएको छ। विकट भौगोलिक अवस्था हुँदाहुँदै पनि उद्धारमा खटिएका सुरक्षा निकाय र टोलीहरूको साहस र समर्पणप्रति पार्टीले उच्च सम्मान व्यक्त गरेको छ ।

रास्वपाले यस घटनाले नेपालको सडक सुरक्षाको अवस्थामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै यस्ता दुर्घटनालाई केवल तथ्यांकका रूपमा नलिन आग्रह गरेको छ । नागरिकको जीवनसँग जोडिएका यस्ता घटनाले परिवार र समुदायमा दीर्घकालीन पीडा पु¥याउने भन्दै पार्टीले संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएको छ ।

‘यस दुःखद घटनाले फेरि एकपटक हाम्रो सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ। यस्ता दुर्घटनाहरू तथ्यांक मात्रै होइनन् यी हाम्रा नागरिकको जीवनसँग जोडिएका संवेदनशील वास्तविकता हुन् भन्ने मा हामी सचेत छौ । यस्तो घटनाले परिवार र समुदायलाई दीर्घकालीन पीडामा छोड्छ भन्नेमा हाम्रो चासो छ हामी यसमा तपाइहरुसँग हुनेछौ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै, आगामी दिनमा यस्ता दुर्घटनाको पुनरावृत्ति रोक्न सवारी दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, कडा कार्यान्वयन र आवश्यक पूर्वाधार विकासमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । नागरिक सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै प्रभावकारी र जिम्मेवार कदम चाल्नु अपरिहार्य रहेको पार्टीको भनाइ छ ।

‘आगामी दिनमा यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नदिन सवारी साधन दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, कडा कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकासमा हामी दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।