काँकरभिट्टाबाट आयातले राजस्वमा मजबुती

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३० हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । आयातसँगै राजस्व सङ्कलनमा समेत उल्लेख्य वृद्धि देखिएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र कोइलालगायत पेट्रोलियमजन्य वस्तु आयात भएका छन् । ती वस्तु आयातबाट चालु आवको नौ महिनामा रु ७ अर्ब ४४ करोड ७८ लाख १८ हजार राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी पेट्रोल आयात भएको छ । चैत मसान्तसम्म रु ७ अर्ब ७५ करोड ९४ लाख मूल्यबराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात भएको छ । त्यसैगरी, रु ५ अर्ब ८७ करोड १८ लाख मूल्यबराबरको ५५ हजार २४ किलोलिटर डिजेल आयात गरिएको छ ।

एलपी ग्यासतर्फ रु १ अर्ब ९० करोड ५९ लाख मूल्यबराबरको १९ हजार १३६ दशमलव ६९३ मेट्रिक टन आयात भएको छ । हवाई इन्धन एटीएफ रु ५७ करोड ५१ लाख मूल्यबराबरको ५ हजार ९८८ किलोलिटर आयात भएको छ भने रु ७० करोड १२ लाख मूल्यबराबरको ३४ हजार ५२४ दशमलव ४९० मेट्रिक टन कोइला आयात गरिएको सूचना अधिकारी हुमागाईँले बताए ।

काँकरभिट्टा नाकाबाट भएको उच्च आयातले देशको ऊर्जा आपूर्तिमा सहजता ल्याउनुका साथै राजस्व सङ्कलनमा समेत सकारात्मक योगदान पुर्‍याएको देखिएको छ । आगामी दिनमा पनि यस्ता आयातले आर्थिक गतिविधि सुदृढ बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।