प्रविधि संवादले डिजिटल भविष्यलाई गति

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालद्वारा संयुक्त रूपमा आयोजना गरिएको ‘टेक फर्वार्ड: मिडिया डायलग २०२६’ कार्यक्रम सम्पन्न भएको छ । हात्तिसारस्थित हुवावे टावरमा बिहीबार आयोजित कार्यक्रममा सूचना प्रविधि, डिजिटल रूपान्तरण तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रभावबारे विज्ञ र सञ्चारकर्मीबीच विस्तृत छलफल भएको थियो ।

कार्यक्रमको सुरुवातमा सहभागीलाई स्वागत गर्दै हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेन केयाङ (चेस्टर) ले नेपालमा प्रविधि क्षेत्रको विकासप्रति आफू उत्साहित रहेको बताए । दक्ष जनशक्ति उपलब्ध हुँदाहुँदै पनि आईसीटी विकासमा नेपाल छिमेकी मुलुकहरूभन्दा केही पछाडि रहेको उनले उल्लेख गरे । उनले यसलाई अवसरका रूपमा लिनुपर्ने बताउँदै दूरसञ्चार क्षेत्रको दिगो र अर्गानिक विकासका लागि सरकार, नियामक निकाय, सेवा प्रदायक, प्रविधि कम्पनी र मिडियाबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा नेपालमा पाँचौँ पुस्ताको मोबाइल इन्टरनेट सेवा फाइभजी सञ्चालनका सम्भावना, चुनौती र आवश्यकताबारे विशेष छलफल भएको थियो । विज्ञहरूले फाइभजी अघि बढाउन फोरजी पूर्वाधार विस्तार अनिवार्य रहेको बताएका थिए । नेपालजस्तो भौगोलिक रूपमा जटिल मुलुकमा स्ट्यान्ड–अलोन फाइभजी पूर्वाधार विकास चुनौतीपूर्ण हुने भएकाले नन–स्ट्यान्ड–अलोन प्रविधि प्रभावकारी विकल्प हुन सक्ने धारणा राखियो । यस प्रविधिमा फोरजी पूर्वाधारकै आधारमा फाइभजी सेवा विस्तार गरिने भएकाले लागत र समय दुवै बचत हुने बताइएको छ ।

सहभागीहरूले नेपालले प्रारम्भिक चरणमै थ्रीजी सेवा भित्र्याउन सफल भए पनि फाइभजी कार्यान्वयनमा सुस्त देखिएको बताए । नियामक निकाय, सरकार र सेवा प्रदायकबीच समन्वय अभावले ढिलाइ भइरहेको निष्कर्ष पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा टीजेएफका अध्यक्ष पूर्ण दुवालले प्रविधि पत्रकारिताको वर्तमान अवस्था र भविष्यबारे प्रकाश पारे । उनले डिजिटल रूपान्तरणसँगै मिडियामा आएको परिवर्तन, तथ्यपरक र उत्तरदायी पत्रकारिताको आवश्यकता तथा प्रविधि पत्रकारहरूको क्षमता अभिवृद्धिमा यस्ता कार्यक्रम उपयोगी हुने बताए । प्रविधि र मिडिया एकअर्काका पूरक बन्दै गएको उनले उल्लेख गरे ।

विभिन्न विषयगत प्रस्तुतीकरणहरू पनि कार्यक्रममा समावेश गरिएका थिए । हुवावे इन्टरप्राइजेजका निर्देशक प्रदीप पन्हुरले ‘एआई ट्रेन्ड्स एन्ड इन्टरप्राइज सोलुसन्स’ विषयमा प्रस्तुतीकरण गर्दै एआईको प्रयोग व्यवसायिक क्षेत्रमा तीव्र रूपमा बढिरहेको बताए । उनले एआईले उत्पादकत्व वृद्धि, लागत नियन्त्रण र निर्णय प्रक्रियामा सुधार ल्याउने उल्लेख गरे ।

त्यसैगरी, डेटा सेन्टर विज्ञ रोहितचन्द्र शाहले ‘नेक्स्ट जेन डेटा सेन्टर सोलुसन फर एक्सिलरेटिङ डिजिटलाइजेसन’ विषयमा प्रस्तुतीकरण गर्दै डिजिटल अर्थतन्त्रमा डेटा सेन्टरको महत्वपूर्ण भूमिका रहेको बताए । सुरक्षित, दिगो र उच्च क्षमताका डेटा सेन्टरको आवश्यकता बढ्दै गएको उनको भनाइ थियो ।

प्रभात रेग्मीले ‘फाइभजी ट्रेन्ड एन्ड इन्नोभेसन’ विषयमा प्रस्तुतीकरण गर्दै फाइभजी प्रविधिले सञ्चार, उद्योग र सेवा क्षेत्रमा ल्याउने परिवर्तनबारे जानकारी दिए । उनले स्मार्ट सिटी, इन्टरनेट अफ थिङ्स (आईओटी), अटोमेसन तथा डिजिटल सेवाहरूको विकासमा फाइभजीले महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

कार्यक्रममा सहभागीहरूले प्रविधि र मिडियाबीचको सम्बन्ध, डिजिटल रूपान्तरणका अवसर तथा चुनौती, साइबर सुरक्षा र डेटा गोपनीयताजस्ता विषयमा अन्तरक्रिया गरेका थिए ।

टीजेएफका उपाध्यक्ष गणेश सुवेदीले प्रविधि पत्रकारहरूको क्षमता अभिवृद्धि, सहकार्य विस्तार र डिजिटल साक्षरता प्रवर्द्धन आवश्यक रहेको बताए । उनले यस्ता कार्यक्रमहरूले ज्ञान आदानप्रदानसँगै सहकार्यका नयाँ अवसर सिर्जना गर्ने उल्लेख गरे ।

कार्यक्रमको समापनमा हुवावे नेपालका कर्पोरेट अफेयर्स म्यानेजर असित अधिकारीले हुवावेले विगत २७ वर्षदेखि नेपालमा निरन्तर सेवा दिँदै आएको जानकारी दिए । उनका अनुसार हुवावेले हाल विश्वका १७० भन्दा बढी देशमा सेवा प्रदान गर्दै करिब २ लाख ७ हजारभन्दा बढीलाई रोजगारी दिएको छ । उनले कम्पनीले व्यापारसँगै सामाजिक र संस्थागत उत्तरदायित्वमा पनि योगदान पुर्‍याउँदै आएको बताए ।

कार्यक्रमले नेपालमा प्रविधि र मिडियाबीच सहकार्य बढाउँदै डिजिटल रूपान्तरणलाई थप गति दिने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।