बैंक आम्दानीमा स्थिर वृद्धि, १ खर्ब ४२ अर्ब नाघ्यो

काठमाडौँ । सुस्त कर्जा प्रवाहको अवस्थाबीच पनि नेपालका वाणिज्य बैंकहरूको मुख्य आम्दानी स्रोत खुद ब्याज आम्दानीमा वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्म २० वाणिज्य बैंकहरूले कुल १ खर्ब ४२ अर्ब ६८ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।

यो आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.९९ प्रतिशतले बढी हो । गत वर्ष चैतसम्म बैंकहरूले १ खर्ब ३९ अर्ब ८९ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । निक्षेपमा दिइने र कर्जामा लिइने ब्याजको अन्तरबाट हुने यो आम्दानी बैंकहरूको नाफाको प्रमुख आधार मानिन्छ ।

समीक्षा अवधिमा १३ वटा बैंकको खुद ब्याज आम्दानी वृद्धि भएको छ । प्रतिशतका आधारमा सबैभन्दा धेरै वृद्धि राष्ट्रिय वाणिज्य बैंकमा देखिएको छ, जसको आम्दानी २२.५८ प्रतिशतले बढेर ८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै सानिमा बैंकको आम्दानी २०.४८ प्रतिशत, कुमारी बैंकको १७.८० प्रतिशत र एनएमबि बैंकको १३.६८ प्रतिशतले वृद्धि भएको छ । रकमका आधारमा नबिल बैंक १२ अर्ब ४५ करोड रुपैयाँसहित अग्रस्थानमा रहेको छ ।

तर, सात बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएको छ । सबैभन्दा ठूलो गिरावट एनआईसी एशिया बैंकमा देखिएको छ, जसको आम्दानी २०.७८ प्रतिशतले घटेको छ । त्यस्तै हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक र लक्ष्मी सनराइज बैंकको आम्दानीमा पनि कमी आएको छ ।

प्रमुख बैंकहरूको विवरणअनुसार नबिल बैंकले १२ अर्ब ४५ करोड, ग्लोबल आइएमई बैंकले ११ अर्ब ८८ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ९ अर्ब ५७ करोड र कुमारी बैंकले ९ अर्ब ३० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।

बैंकिङ क्षेत्रमा कर्जाको माग अपेक्षाकृत कमजोर रहे पनि ब्याजदर व्यवस्थापन र स्प्रेड दर सन्तुलनका कारण समग्र खुद ब्याज आम्दानीमा सकारात्मक प्रवृत्ति देखिएको विश्लेषण गरिएको छ ।