निजी क्षेत्रबाट आर्थिक रूपान्तरण

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका सन्दर्भमा नीति ३६५ डटकमका निर्देशक वासुदेव न्यौपानेले वस्तुगततर्फ कार्यकारिणी सदस्य पदका उम्मेदवार धनप्रसाद लामिछानेसँग लिएको अन्तर्वार्ता ।

निजी क्षेत्र र महासंघको भूमिकालाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ ?

नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख शक्ति निजी क्षेत्र नै हो । रोजगारी सिर्जना, उत्पादन वृद्धि र निर्यात प्रवद्र्धनमा यसको भूमिका अत्यन्त महत्वपूर्ण छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) निजी क्षेत्रको साझा छाता संस्था भएकाले यसले नीति निर्माण तहमा प्रभावकारी लबिङ गर्न सक्छ । व्यक्तिगत रूपमा वा साना संघसंस्थामार्फत उठाइएका आवाजभन्दा महासंघमार्फत उठाइएका मुद्दाहरू बढी विश्वसनीय र प्रभावकारी हुने अनुभव मैले पाएको छु ।

तपाईंको व्यक्तिगत अनुभव र पृष्ठभूमि कस्तो छ ?

म नेपाल पश्मिना उद्योग संघको अध्यक्ष हुँ । पश्मिना उद्योग क्षेत्रमा करिब ३० वर्षदेखि क्रियाशील छु । उत्पादनदेखि लिएर युरोपियन बजारसम्मको निर्यात प्रक्रिया, सप्लाई चेन र भ्यालु चेनका सबै चरणमा प्रत्यक्ष अनुभव छ । यस क्रममा मैले क्षेत्रका कमजोरी, सम्भावना र सुधारका उपायहरू नजिकबाट बुझेको छु । यही अनुभवलाई राष्ट्रिय स्तरमा उपयोग गर्नुपर्ने आवश्यकता महसुस गरेको छु ।

महासंघको निर्वाचनमा उम्मेदवारी दिनुको मुख्य उद्देश्य के हो ?

मेरो उद्देश्य पद प्राप्त गर्नु होइन, बरु आफ्नो क्षेत्रका मुद्दाहरूलाई सशक्त रूपमा राष्ट्रिय नीतिमा समावेश गराउनु हो । महासंघको कार्यसमितिमा पुगेर वस्तुगत क्षेत्रका आवाजलाई बुलन्द बनाउने, नीतिगत सुधारका लागि लबिङ गर्ने र दीर्घकालीन आर्थिक रूपान्तरणमा योगदान दिने मेरो लक्ष्य हो ।

 

तपाईंले उठाउन खोज्नुभएको मुख्य आर्थिक एजेन्डा के हो ?

नेपालको हिमाली क्षेत्रमा रहेको करिब ३३ लाख हेक्टर चरनभूमिको सदुपयोग मेरो मुख्य एजेन्डा हो । अहिले यी क्षेत्रहरू प्रयोगविहीन छन्, जबकि हामी वार्षिक अर्बौं रुपैयाँको ऊन र पशुजन्य उत्पादन आयात गरिरहेका छौं । यदि भेडा, च्याङ्रा र चौरी पालनलाई व्यवस्थित रूपमा विकास गर्न सकियो भने आयात प्रतिस्थापन मात्र होइन, ठूलो मात्रामा निर्यात पनि सम्भव हुन्छ ।

 

पश्मिना क्षेत्रको सम्भावना कति छ ?

नेपालमा विश्वकै उत्कृष्ट गुणस्तरको पश्मिना उत्पादन हुन्छ । अन्तर्राष्ट्रिय अनुसन्धानले समेत नेपाली च्याङ्राको पश्मिनालाई उत्कृष्ट मानेको छ । बजार पनि सुनिश्चित छ, तर उत्पादन र प्रशोधनमा कमजोरी छ । यदि नीतिगत सुधार र पूर्वाधार विकास भयो भने यो क्षेत्रले अर्बौं रुपैयाँको निर्यात गर्न सक्छ ।

यस क्षेत्रमा मुख्य समस्या के–के छन ?

मुख्य समस्या नीतिगत असमञ्जस्य हो । चरनभूमिलाई वन ऐनअन्तर्गत राखिएको छ, जसले पशुपालन विस्तारमा अवरोध पुर्‍याएको छ । त्यस्तै, राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रका नियमहरूले स्थानीय बासिन्दालाई आफ्नै स्रोत प्रयोग गर्न कठिन बनाएको छ । प्रशोधन उद्योगको अभाव, बजार पहुँचको कमजोरी र लगानी सुरक्षाको अभाव पनि चुनौती हुन् ।

 

समाधानका लागि तपाईंको प्रस्ताव के छ ?

स्पष्ट नीति सुधार आवश्यक छ । चरनभूमिलाई कृषि तथा पशुपालनसँग जोड्नुपर्छ । “फार्मदेखि फाइबर र फाइबरदेखि फेसन”सम्मको सम्पूर्ण भ्यालु चेन विकास गर्नुपर्छ । निजी क्षेत्र, सरकार र समुदायबीच सहकार्य आवश्यक छ । साथै, प्रशोधन उद्योग, बजार पहुँच र प्राविधिक तालिममा लगानी गर्नुपर्छ ।

 

यसले अन्य क्षेत्रहरूमा कस्तो प्रभाव पार्छ ?

यसले बहुआयामिक प्रभाव पार्छ । कृषि, पर्यटन, उद्योग, ऊर्जा र वित्तीय क्षेत्र सबैलाई चलायमान बनाउँछ । कृषि पर्यटन विकास हुन्छ, डेरी, कपडा, हस्तकला, होटल, यातायात जस्ता क्षेत्रहरूमा रोजगारी बढ्छ । साथै, अर्गानिक उत्पादन र स्थानीय उद्योगलाई समेत टेवा पुग्छ ।

 

युवा पलायन रोक्न यसले कसरी मद्दत गर्छ ?

अहिले युवाहरू अवसरको अभावमा विदेश पलायन भइरहेका छन् । यदि यही क्षेत्रमा रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सकियो भने उनीहरू देशमै बस्न प्रेरित हुन्छन् । हिमाली क्षेत्रको विकाससँगै गाउँहरू पुनर्जीवित हुन्छन् ।

सरकारसँग तपाईंको अपेक्षा के छ ?

सरकारप्रति मेरो दृष्टिकोण सकारात्मक छ । तर नीतिगत सुधारमा ध्यान दिन आवश्यक छ । निजी क्षेत्रलाई अपराधी दृष्टिकोणले हेर्नु हुँदैन । गल्ती गर्नेहरूलाई कारबाही गर्नुपर्छ, तर इमान्दार व्यवसायीलाई प्रोत्साहन गर्नुपर्छ । लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता छ ।

 

महासंघमार्फत तपाईं के परिवर्तन ल्याउन चाहनुहुन्छ ?

महासंघलाई अझ प्रभावकारी बनाउँदै निजी क्षेत्रका वास्तविक समस्याहरू सरकारसम्म पुर्‍याउन चाहन्छु । वस्तुगत क्षेत्रका मुद्दाहरूलाई प्राथमिकतामा राख्दै नीतिगत सुधारका लागि सशक्त पहल गर्ने मेरो लक्ष्य छ ।

 

मतदातालाई तपाईंको सन्देश के छ ?

म सबै मतदातालाई योग्य र दूरदृष्टि भएको नेतृत्व छान्न आग्रह गर्दछु । यदि मलाई अवसर दिनुभयो भने, म इमान्दारीपूर्वक काम गर्दै परिणाममुखी योगदान दिनेछु । देशमै अवसर सिर्जना गरेर युवालाई रोक्ने र अर्थतन्त्रलाई सुदृढ बनाउने मेरो प्रतिबद्धता छ ।