काठमाडौँ । आन्तरिक उडान सञ्चालन गर्दै आएका निजी वायुसेवा कम्पनीहरू पछिल्लो समय सञ्चालन खर्चको बढ्दो चापका कारण कठिनाइमा परेका छन्। हवाई इन्धनको मूल्य निरन्तर बढ्दै गएपछि व्यवसाय सञ्चालन गर्नै चुनौतीपूर्ण बन्दै गएको उनीहरूको गुनासो छ।
यसै सन्दर्भमा वायुसेवा सञ्चालक संघले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेस) लाई पत्र लेख्दै तत्काल राहत र सहुलियतका उपाय अवलम्बन गर्न आग्रह गरेको छ। संघले वर्तमान अवस्थाले समग्र वायुसेवा क्षेत्र गम्भीर संकटतर्फ उन्मुख भइरहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएको हो।
संघका अध्यक्ष प्रदीप जंग पाण्डेका अनुसार कोभिड–१९ महामारीपछि क्रमशः पुनर्जीवित हुँदै गएको पर्यटन क्षेत्र पछिल्लो समय फेरि विभिन्न आन्तरिक तथा बाह्य कारणले दबाबमा परेको छ। विशेषगरी गत २३ र २४ भदौमा भएको ‘जेनजी’ आन्दोलन र त्यसपछि मध्यपूर्वमा जारी द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा असर पार्दा हवाई इन्धनको मूल्य अस्वाभाविक रूपमा बढेको उनको भनाइ छ।
बढ्दो लागतका कारण वायुसेवा कम्पनीहरूको सञ्चालन क्षमता प्रभावित हुँदै गएको र दीर्घकालीन रूपमा सेवा निरन्तरतामै समस्या आउन सक्ने भन्दै संघले सरकारले आवश्यक नीतिगत हस्तक्षेप गर्नुपर्नेमा जोड दिएको छ।
