काठमाडौँ । नेपालको वित्तीय क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको आईएमई ग्रुप र उत्पादनमूलक क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव भएको एभरेष्ट ग्रुपको संयुक्त लगानीमा स्थापना भएको ‘नेपाल पल्प एन्ड पेपर इन्ड्रस्ट्रिज’ ले परीक्षण उत्पादनको छोटो अवधिमै ३० करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ।
सन् २०२१ जनवरी २० मा दर्ता भएको यो कम्पनीले सन् २०२५ जुलाईदेखि प्रिन्टिङ पेपरको पूर्ण व्यावसायिक उत्पादन सुरु गरेको हो। त्यसअघि सन् २०२५ अप्रिल १ देखि करिब साढे तीन महिनासम्म चलेको परीक्षण उत्पादन अवधिमा कम्पनीले ५० प्रतिशत क्षमता उपयोग गर्दै ३० करोड २० लाख रुपैयाँको व्यापार गर्न सफल भएको थियो। सो अवधिमा सञ्चालन मुनाफा ७.१ प्रतिशत कायम भएको रिपोर्टमा उल्लेख छ।
वार्षिक २१ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको यस उद्योगले बैंक, अस्पताल तथा सरकारी निकायसँग समन्वय गर्दै बजार विस्तार गर्ने योजना अघि सारेको छ।
तर, कम्पनीले वित्तीय र संरचनागत चुनौती पनि सामना गरिरहेको छ। सुरुमा १ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजना नयाँ मेसिनरी थप र निर्माण अवधि लम्बिँदा ५६ प्रतिशतले बढेर २ अर्ब २० करोड रुपैयाँ पुगेको छ। निर्माण ढिलाइका कारण ब्याज खर्च पनि बढेको देखिएको छ।
कम्पनीमा ८० प्रतिशत ऋण र २० प्रतिशत स्वपुँजी रहेकोले वित्तीय भार उच्च रहेको छ। सन् २०२५ जुलाईसम्मको तथ्यांक अनुसार यसको ऋण–नेटवर्थ अनुपात ४.३ गुणा पुगेको छ, जसले प्रारम्भिक चरणमा ब्याज तथा किस्ता भुक्तानीमा दबाब सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ।
विदेशी कागज ब्रान्डसँगको प्रतिस्पर्धा, सरकारद्वारा आयात शुल्क २० प्रतिशतबाट १५ प्रतिशतमा घटाइएपछि थप चुनौती, तथा कच्चा पदार्थको मूल्य उतारचढावले कम्पनीको नाफामा असर पार्न सक्ने जोखिम पनि देखिएको छ।
यसैबीच, क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको दीर्घकालीन कर्जा रेटिङ ‘एलबी’ बाट बढाएर ‘एलबी प्लस’ कायम गरेको छ भने अल्पकालीन कर्जाको ‘एफोर’ रेटिङलाई पुनः पुष्टि गरेको छ। पछिल्लो समय कम्पनीले वित्तीय दायित्व समयमै पूरा गर्दै वित्तीय अनुशासनमा सुधार गरेको बताइएको छ।
कम्पनीको अध्यक्षमा चन्द्रप्रसाद ढकाल रहेका छन्। प्रमुख लगानीकर्तामा वन क्यापिटल होल्डिङ्स (३६ प्रतिशत), सुलोचना देवी सर्राफ (२० प्रतिशत), होमनाथ ज्ञवाली (१६ प्रतिशत) र सुनील गोपाल श्रेष्ठ (१५ प्रतिशत) रहेका छन्। एभरेष्ट ग्रुपको औद्योगिक अनुभव र आईएमई ग्रुपको वित्तीय सुदृढताले कम्पनीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
