महासंघमा नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयन प्रक्रिया आजदेखि ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा सुरु भएको छ। लामो समयदेखि देखिँदै आएको कानुनी जटिलता र आन्तरिक मतभेदपछि सहमति जुटेसँगै कार्यक्रम औपचारिक रूपमा अघि बढाइएको हो।

महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने निश्चित भएको छ। उनले वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालबाट नेतृत्वको जिम्मेवारी सम्हाल्नेछन्। कार्यसमितिका अन्य पदहरूको निर्वाचन भने भोलि काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदानमार्फत हुने कार्यक्रम तय गरिएको छ।

यसपटक ७३ सदस्यीय कार्यसमितिका लागि १३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। देशभरका २ हजारभन्दा बढी मतदाताहरू निर्वाचन प्रक्रियामा सहभागी हुने भएका छन्। वरिष्ठ उपाध्यक्ष, विभिन्न उपाध्यक्ष तथा सदस्य पदहरूका लागि प्यानलगत रूपमा प्रतिस्पर्धा तीव्र बनेको छ।

व्यवसायीहरूले नयाँ नेतृत्वले बैंक ब्याजदर, लगानी वातावरण सुधार तथा बजारमा देखिएको आर्थिक सुस्तता समाधानका लागि प्रभावकारी पहल गर्ने अपेक्षा व्यक्त गरेका छन्।