झापा । मेची भन्सार कार्यालय मातहत रहेका छवटा छोटी भन्सार कार्यालयमध्ये हाल एउटामात्र सञ्चालनमा रहेको छ। राजस्व संकलन र सीमापार व्यापार सहजीकरणका लागि स्थापना गरिएका अन्य पाँच वटा छोटी भन्सार कार्यालय भने लामो समयदेखि बन्द अवस्थामा रहेका छन्।
मेची भन्सार कार्यालयअन्तर्गत गौरीगन्ज–२ मा आठमौजा छोटी भन्सार, मेचीनगर–२ मा गाडागल्ली, मेचीनगर–४ मा बाहुनडाँगी, मेचीनगर–५ मा नकलबन्दा, मेचीनगर–७ मा सतिघट्टा र गौरीगन्ज–१ मा महाभारा छोटी भन्सार स्थापना गरिएको थियो। तर हाल गौरीगन्ज–२ स्थित आठमौजा छोटी भन्सार मात्र सञ्चालनमा रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए।
उनका अनुसार सञ्चालनमा रहेको आठमौजा छोटी भन्सारबाट समेत उल्लेखनीय भन्सार कारोबार हुन सकेको छैन। सीमापार व्यापार न्यून भएकाले अन्य छोटी भन्सारहरू बन्द अवस्थामा पुगेका हुन्।
भन्सार कार्यालयका अनुसार आयात–निर्यातका लागि केवल भन्सार मात्र पर्याप्त हुँदैन, क्वारेन्टाइन लगायतका अन्य सेवा र पूर्वाधार पनि आवश्यक हुन्छ। तर छोटी भन्सारहरूमा त्यस्ता सेवा उपलब्ध नभएकाले व्यापारिक गतिविधि प्रभावकारी बन्न सकेको छैन। हाल मुख्य कारोबार काँकरभिट्टा भन्सारमार्फत भइरहेको छ, जहाँ सुक्खा बन्दरगाह, अध्यागमन, क्वारेन्टाइन र प्रविधियुक्त जाँच कक्षहरू रहेका छन्।
यसैबीच मेचीनगर–४ स्थित बाहुनडाँगी छोटी भन्सार विगत आठ वर्षदेखि बन्द रहेको स्थानीय वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए। उनले ऐतिहासिक महत्व बोकेको भन्सार पुनः सञ्चालन गर्न स्थानीय तह सहयोग गर्न तयार रहेको उल्लेख गरे। “यो नेपालकै पुरानो सीमाबजारमध्ये एक हो, यसको पुनः सञ्चालन आवश्यक छ,” उनले भने।
राणाकाल र पञ्चायतकालदेखि सीमावर्ती नाका रूपमा परिचित बाहुनडाँगीबाट विगतमा नेपाल–भारत आवतजावत र व्यापारिक गतिविधि हुने गरेको स्थानीयले स्मरण गरेका छन्। हाल उक्त भन्सारको आफ्नै १३ धुर जग्गा र पुरानो भवन रहेको छ, जसको संरक्षण स्थानीय तहले गरिरहेको छ।
हाल सञ्चालनमा रहेको आठमौजा छोटी भन्सार काँकरभिट्टा मुख्य भन्सारबाट करिब ७५ किलोमिटर पश्चिम–दक्षिणमा अवस्थित छ। यस क्षेत्रमा भारततर्फ फत्तेपुर बजार रहेको छ। बाँकी नकलबन्दा, सतिघट्टा, महाभारा र गाडागल्ली छोटी भन्सार भवनहरू जीर्ण अवस्थामा रहेका छन् भने सीमापारि ठूलो बजार नहुँदा व्यापारिक गतिविधि सीमित बनेको देखिन्छ।
सीमानाकामा सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्दै आएको छ। स्थानीयले पूर्वाधार सुधार र आवश्यक सेवा विस्तार भएमा छोटी भन्सार पुनः सक्रिय बनाउन सकिने अपेक्षा व्यक्त गरेका छन्।
