पहिरो पन्छाएपछि राजमार्ग खूला

केही दिन यता देखिको वर्षासँगै आएको बाढी पहिराका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन्।

सोमबार साँझको वर्षासँगैको पहिराका कारण अवरुद्ध भएको ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ सडक खण्ड, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्री सडक खण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग, मकवानपुर भिमफेदी गाउँपालिका–८ भर्‍याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायात सुरु भएको प्रहरीले जनाएको छ ।

यसैगरी इलामस्थित इलाम रोङ गाउँपालिका–६ सलकपुर डखेप हुँदै झापा जाने भित्री कच्ची सडक, काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ घुमाउने ४०० बेँसीस्थित बिपी राजमार्ग सडक खण्ड तथा लमजुङको मध्य नेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरोध भएको छ।

काभ्रेपलान्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी चल्ने सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

वर्षातको समयमा बाढी पहिराको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।