काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्णाली प्रदेशको कालिकोट जिल्लामा विपद्बाट प्रभावित तथा आगलागी पीडित घरपरिवारलाई राहत स्वरूप कम्मल वितरण गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले २०८२ साल असोज १८ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण प्रभावित कर्णाली प्रदेशअन्तर्गत कालिकोट जिल्लाका विभिन्न स्थानीय तहमा रहेका पीडितहरूलाई सहयोग गरेको हो। शुभ कालिका गाउँपालिका वडा नं. ७ र ८, महावै गाउँपालिका वडा नं. ५ र ६, खाँडाचक्र नगरपालिका वडा नं. १ र ५ तथा तिलागुफा नगरपालिका वडा नं. ७ र १० का वर्षापीडित घरपरिवार र तिलागुफा नगरपालिका वडा नं. ५ र ६ तथा खाँडाचक्र नगरपालिका वडा नं. १० का आगलागी पीडित गरी जम्मा ४३ घरपरिवारलाई कम्मल वितरण गरिएको कम्पनीले जनाएको छ।
उक्त राहत वितरण कार्यक्रम कम्पनीको सुर्खेत शाखाको शाखा प्रमुख विश्वराज बोगटीको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी पीडितहरूले सहयोगप्रति खुशी र सन्तुष्टि व्यक्त गर्दै दुर्गम क्षेत्रमा पुगेर मानवीय सेवा प्रदान गरेकोमा कम्पनीप्रति कृतज्ञता व्यक्त गरेका छन्।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय योगदान पुर्याउने योजना रहेको जनाएको छ। नाफामुखी व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सरलता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ।
हाल कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै, कम्पनीमा २० हजारभन्दा बढी अभिकर्ताहरू कार्यरत रहेका छन्।
