काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको खुद नाफामा गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा १७.७ प्रतिशतले घटेर २६ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ।
समिक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने सामान्य रूपमा मात्रै बढेको छ। चैत मसान्तसम्म कम्पनीले ७ अर्ब ४६ करोड ४ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा ७ अर्ब ३९ करोड १७ लाख ३७ हजार रुपैयाँ रहेको थियो।
कम्पनीको नाफा घट्नुको मुख्य कारण खर्चमा भएको उल्लेखनीय वृद्धि रहेको देखिन्छ। यस अवधिमा बिक्री लागत बढेर ६ अर्ब ५१ करोड १८ लाख ३५ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ६ अर्ब ३६ करोड ३२ लाख २९ हजार रुपैयाँ थियो। त्यसैगरी प्रशासनिक तथा अन्य खर्चहरू पनि बढेर २९ करोड ६६ लाख २७ हजार रुपैयाँ पुगेको छ।
वित्तीय सूचकहरूतर्फ कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब ५५ करोड ६ लाख ६ हजार रुपैयाँ सञ्चित छ। कम्पनीको कुल सम्पत्ति १४ अर्ब ८ करोड ६८ लाख २८ हजार रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी (वार्षिक) २०.४२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ४९७.३७ रुपैयाँ कायम रहेको छ। साथै, तरलता अनुपात २.०० रहेको उल्लेख गरिएको छ।
कम्पनीले प्रतिकूल राजनीतिक अवस्था र चुनौतीपूर्ण आर्थिक परिवेशका बीच पनि आफ्नो व्यावसायिक गतिविधि निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ। यद्यपि, बढ्दो वित्तीय लागतले कम्पनीको नाफामा दबाब सिर्जना गरिरहेको छ।
उत्पादनतर्फ पनि कम्पनीले विभिन्न अवरोधहरू सामना गर्नुपरेको जनाएको छ। विशेषगरी नेपाल विद्युत प्राधिकरणद्वारा भइरहेको अघोषित लोडसेडिङले उत्पादन चक्रमा प्रत्यक्ष असर पुर्याएको छ। साथै, डेडिकेटेड र ट्रंक लाइन विद्युत महसुलसम्बन्धी विवाद समाधान नभई झन् जटिल बन्दै गएको छ, जुन मुद्दा हाल पाटन उच्च अदालतमा विचाराधीन रहेको छ।
विश्व बजारको अस्थिरता पनि कम्पनीका लागि अर्को चुनौती बनेको छ। अन्तर्राष्ट्रिय नीतिगत परिवर्तन तथा अमेरिकी डलरको विनिमय दरमा हुने उतारचढावले कच्चा पदार्थको लागत बढाएको छ। यी सबै कारणले उत्पादन खर्च बढ्दै जाँदा कम्पनीको समग्र नाफामा प्रत्यक्ष असर परेको देखिएको छ।
