सर्वोत्तम सिमेन्टको नाफामा उत्साहजनक उछाल

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ५०.२० प्रतिशतले वृद्धि भई ९० करोड ५८ लाख १३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६० करोड ३० लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समिक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानीमा पनि सकारात्मक सुधार देखिएको छ। चैत मसान्तसम्म कम्पनीले ७ अर्ब ७९ करोड ७८ हजार रुपैयाँ आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको ६ अर्ब ८१ करोड १४ लाख १० हजार रुपैयाँको तुलनामा उच्च हो।

यस अवधिमा कम्पनीको कुल खर्च ८५ करोड ६१ लाख ८४ हजार रुपैयाँ पुगेको छ। जसमा प्रशासनिक खर्च २० करोड ३५ लाख रुपैयाँ, बिक्री तथा वितरण खर्च ४६ करोड ६३ लाख रुपैयाँ र वित्तीय खर्च १८ करोड ६३ लाख रुपैयाँ समावेश छन्। नाफामा भएको वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) २३.१२ रुपैयाँ कायम भएको छ।

वित्तीय अवस्थातर्फ कम्पनी बलियो देखिएको छ। हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ६७ करोड ६१ लाख ४८ हजार रुपैयाँ सञ्चित छ। कम्पनीको कुल सम्पत्ति १६ अर्ब ५५ करोड ७ लाख १० हजार रुपैयाँ पुगेको छ र प्रतिशेयर नेटवर्थ १९५.९६ रुपैयाँ कायम रहेको छ।

कम्पनीले उत्पादन क्षमताको अधिकतम उपयोग गर्दै सञ्चालन तथा उत्पादन लागत घटाउने रणनीति अवलम्बन गरेको जनाएको छ। साथै, नेपाली तथा भारतीय बजारमा उच्च गुणस्तरको सिमेन्ट आपूर्ति गर्दै बजार विस्तार गर्ने लक्ष्य राखिएको छ।

यद्यपि, विश्वव्यापी भू–राजनीतिक परिस्थितिका कारण कोइला तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा कच्चा पदार्थ उत्खनन र ढुवानी लागत बढेको छ। आयातित वस्तुको मूल्यमा हुने उतारचढावले पनि उत्पादन लागतमा थप दबाब सिर्जना गरेको कम्पनीले जनाएको छ।