काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनको यथार्थ विवरण तत्काल उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री कार्यालयले गरेको पछिल्लो अध्ययनमा केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेको सीमाभन्दा बढी सवारी साधन प्रयोग गरेको वा विभिन्न निकायबाट दोहोरो सुविधा लिएको देखिएपछि गृह मन्त्रालयसँग स्पष्ट विवरण माग गरिएको हो।
पत्रमार्फत पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख तथा पूर्वराष्ट्रियसभा अध्यक्षहरूले प्रयोग गरिरहेका सवारी साधन तथा सुविधाको पूर्ण विवरण आजै कार्यालय समयभित्र इमेलमार्फत पठाउन निर्देशन दिइएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार राज्यकोषको दुरुपयोग रोक्न र सुशासन प्रवर्द्धन गर्न यस विषयमा कडाइ गरिएको हो।
प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत सरकारले पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न आवश्यक विवरण माग गरेको जानकारी दिएकी छिन्।
