सरकारले चालु आरोहण सिजनमा सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ ।
पर्यटन विभागका अनुसार मंगलबारसम्म सगरमाथा आरोहणमा कुल ४७ समूहका ४ सय ६४ आरोहीले अनुमति लिएका छन् । उनीहरू मार्फत १ अर्ब १ करोड २८ लाख २३ हजार ९ सय २५ रुपैयाँ रोयल्टी संकलन भएको हो ।
सरकारले यस वर्ष शरद ऋतुदेखि रोयल्टी शुल्क बढाएको थियो । सोहीकारण यस वर्ष रोयल्टी संकलन वृद्धि भएको हो ।
यस वर्ष २९ हिमालमा १ सय २७ समूहका १ हजार ७२ आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट सरकारले १ अर्ब १७ करोड ५५ लाख रुपैयाँ बराबर रोयल्टी संकलन गरेको पर्यटन विभागको तथ्यांक छ ।
सगरमाथापछि यस वर्ष ल्होत्से हिमालमा ९ समूहका १ सय ११ आरोहीले अनुमति लिएका छन् । अमादब्लममा ९ समूहका १ सय ४ आरोहीले अनुमति लिएका छन् ।
यस वर्ष कुल ७९ मुलुकका आरोही हिमाल चढ्न नेपाल आएको तथ्यांकले देखाउँछ । जसमा सबैभन्दा धेरै चीन र अमेरिकाबाट क्रमशस् १ सय ३९ र १ सय ३२ आरोही आएका छन् ।
त्यस्तै बेलायतबाट ७२ र रुसबाट ६६ आरोहीले अनुमति लिएका छन् । सगरमाथाका लागिमात्र ५५ मुलुकका आरोहीले अनुमति लिएको देखिएको छ । जसा चिनियाँ १ सय, अमेरिकी ६७ र भारतीय आरोही ५८ छन् ।
