काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय सर्दीमार्फत एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकले श्री जनकल्याण आधारभूत विद्यालय मा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूलाई स्टेशनरी तथा विभिन्न शैक्षिक सामग्री उपलब्ध गराएको हो। कार्यक्रममा बैंकको नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सिन्जलीलाई सामग्री हस्तान्तरण गरेका थिए।
विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत १३८ जना विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक सामग्री वितरण गरिएको हो।
वितरण गरिएका सामग्रीहरूमा वर्णमाला तथा अंकसम्बन्धी चार्ट, एबीसीडी चार्ट, हप्ताका दिन तथा महिनासम्बन्धी चार्ट, नर्सरी तहका अध्ययन सामग्री, पेन्सिल, कलर, कापी तथा बालबालिकाका लागि खेलमुखी सिकाइ सामग्री लगायत समावेश थिए।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिन्जलीले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामग्रीले विद्यार्थीहरूको सिकाइ प्रक्रिया सहज र प्रभावकारी बनाउन ठूलो सहयोग पुग्ने बताए। उनले यस्ता कार्यक्रमले सामुदायिक विद्यालयका विद्यार्थीहरूको मनोबल बढाउने विश्वास व्यक्त गरे।
त्यसैगरी बैंकका क्षेत्र प्रमुख भण्डारीले शैक्षिक सामग्रीले विद्यार्थीहरूको पठनपाठनमा सहजता र प्रेरणा थप्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिइने बताए।
कार्यक्रममा बैंकका कर्मचारी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। बैंकले स्थानीय समुदायसँगको सहकार्यमा यस्ता साक्षरता तथा शैक्षिक सहयोग कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर अघि बढाउने जनाएको छ।
