काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा नियामकीय अनुशासन कडा बनाउने क्रममा दुई बीमा तथा पुनर्बीमा सम्बन्धित कम्पनीमाथि कारबाही गरेको छ। प्राधिकरणले नियमविपरीत गतिविधि गरेको निष्कर्ष निकाल्दै दुई संस्थालाई जरिवाना तोकेको हो।
प्राधिकरणका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ। कम्पनीले सम्पत्ति बीमा निर्देशन २०८० को दफा २५(२) विपरीत बीमाशुल्कमा अनधिकृत छुट तथा सहुलियत दिएको पाइएपछि बीमा ऐन २०७९ अन्तर्गत कारबाही गरिएको हो। उक्त व्यवस्थाले प्रत्यक्ष बीमाको विशेष अवस्थाबाहेक बीमाशुल्कमा कुनै प्रकारको छुट, कटौती वा सहुलियत दिन रोक लगाएको छ।
त्यस्तै लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ प्रालि लाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका २०७८ को दफा १५ उपदफा (१) र (२) को व्यवस्था पालना नगरेको पाइएपछि उक्त कारबाही गरिएको प्राधिकरणले जनाएको छ।
निर्देशिकाअनुसार इजाजतप्राप्त संस्थाले प्राधिकरणको पूर्वस्वीकृतिबिना स्वामित्व हस्तान्तरण गर्न पाउँदैन। साथै स्वामित्व परिवर्तन गर्नुअघि कारणसहित निवेदन दिनुपर्ने व्यवस्था रहेको पनि प्राधिकरणले स्मरण गराएको छ।
प्राधिकरणले बीमा क्षेत्रमा पारदर्शिता र नियामकीय अनुशासन कायम गर्न यस्ता अनुगमन तथा कारबाहीलाई निरन्तरता दिने संकेत गरेको छ।
