ग्रामिण वित्तमा सबल सुधार, नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । नेपालको लघुवित्त क्षेत्र क्रमशः सुधारको बाटोतर्फ अघि बढिरहेको देखिएको छ। यसैबीच ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख्य सुधार देखाएको छ।

चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार संस्थाले ३० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको २४ करोड ६८ लाख रुपैयाँको तुलनामा २२.१९ प्रतिशतले बढी हो।

संस्थाको मुख्य आम्दानी स्रोत नेट ब्याज आम्दानी पनि उल्लेख्य रूपमा बढेर १ अर्ब १ करोड रुपैयाँभन्दा बढी पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १८.१० प्रतिशतको वृद्धि हो।

त्यस्तै, कुल सञ्चालन आम्दानी १७.९० प्रतिशतले बढेर १ अर्ब ९ करोड रुपैयाँ नाघेको छ। सञ्चालन नाफा भने ४७.२१ प्रतिशतले बढ्दै ५१ करोड ७३ लाख रुपैयाँ पुगेको छ, जसले संस्थाको कार्यक्षमता सुधारिएको संकेत गर्दछ।

यस त्रैमासिकमा संस्थाको वितरणयोग्य नाफा पनि सकारात्मक बनेको छ। अघिल्लो वर्ष ४ करोड ९७ लाख रुपैयाँ घाटामा रहेको यो सूचक अहिले ११ करोड ४० लाख रुपैयाँ नाफामा पुगेको छ। यसलाई भविष्यमा लाभांश वितरण र पूँजी सुदृढीकरणका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

प्रति सेयर आम्दानी (ईपीएस) पनि बढेर ३० रुपैयाँ पुगेको छ भने प्रति सेयर खुद सम्पत्ति मूल्य २९५ रुपैयाँ रहेको छ। संस्थाको आधार दर घटेर १३.०३ प्रतिशतमा झरेको छ, जसले भविष्यमा कर्जाको लागत घट्ने सम्भावना देखाएको छ।

चैत मसान्तसम्म संस्थाले १४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ भने ३ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

तर, कर्जा असुली जोखिममा भने सामान्य वृद्धि देखिएको छ। खराब कर्जा अनुपात (एनपीएल) ४.४२ प्रतिशतबाट बढेर ४.९२ प्रतिशत पुगेको छ।

समग्रमा तेस्रो त्रैमासिक वित्तीय विवरण सकारात्मक देखिएको छ। नाफा वृद्धि, सञ्चालन दक्षता सुधार र वितरणयोग्य नाफा सकारात्मक बन्नु संस्थाको वित्तीय सबलता सुधार भएको संकेत मानिएको छ।