च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको नाममा रहेको भवन खाली गर्न सरकारले सूचना जारी गरेपछि नेकपा एमालेले नयाँ कार्यालय खोज्न थालेको छ ।
भोगाधिकार पाएको, तर लिजमा परिणत नभएको जग्गा खाली गर्न भूमि व्यवस्था मन्त्रालयले सूचना जारी गरेको छ । उक्त सूचना बमोजिम च्यासलको कार्यालय पनि खाली गर्नुपर्ने देखिएको छ ।
आधिकारिक पत्र आएको जानकारी नआएपनि सरकारको सूचना अनुसार भवन खाली गर्नुपर्ने देखिएकाले अर्को कार्यालय खोज्न लागेको एमाले महासचिव शंकर पोखरेलले नीति लाई जानकारी दिए ।
यो जग्गा कानुनअनुसार नै प्रयोग गरिरहेको प्रतिष्ठानले जनाएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार प्राप्त भएकाले आत्तिन नपर्ने दाबी प्रतिष्ठानको छ ।
प्रतिष्ठानको भवनमा ०७८ देखि एमाले बस्दै आएको छ । ०७२ सालको भूकम्पले बल्खुस्थित भवन भत्किएपछि केही समय धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानमा एमालेले कार्यालय राखेको थियो ।
चक्रपथ विस्तारका क्रममा त्यहाँबाट हट्नुपर्ने भएपछि केही समय थापाथली बस्यो । एक व्यापारीको घरमा बस्दा विवादित भएको एमाले च्यासल सरेको थियो ।
च्यासलमै हुँदा कार्यकर्ताहरूबाट पैसा उठाए पनि एमालेले कार्यालय बनाउने कार्य रोकेको थियो । व्यवसायी मीनबहादुर गुरुङले १० रोपनी जग्गासहित एक अर्बको कार्यालय बनाइदिने भएपछि कीर्तिपुरमा शिलान्यास पनि गरिएको थियो ।
