काठमाडौं । एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड अन्तर्गत सञ्चालित काठमाडौँ मेरिएट होटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको एक सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला तथा विद्यार्थीका लागि लन्च बक्स सहयोग प्रदान गरेको छ। कमलपोखरीस्थित कमल बेसिक स्कुलमा आयोजित कार्यक्रममा उक्त सामग्री विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो।
होटलका अनुसार विद्यार्थीहरूको प्रयोगात्मक सिकाइलाई प्रोत्साहन गर्ने उद्देश्यले आवश्यक विज्ञान सामग्रीसहितको प्रयोगशाला उपलब्ध गराइएको हो। यसले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर निस्केर व्यवहारिक सिकाइमा सहभागी हुने अवसर दिने विश्वास गरिएको छ। साथै, विद्यार्थीहरूको दैनिक सहजता र स्वास्थ्यलाई ध्यानमा राख्दै लन्च बक्ससमेत वितरण गरिएको जनाइएको छ।
कार्यक्रममा बोल्दै शशिकान्त अग्रवालले शिक्षा समाजको समृद्धिको आधार भएकाले बालबालिकालाई आवश्यक शैक्षिक साधन उपलब्ध गराउनु साझा दायित्व भएको बताए। उनले समुदायप्रति सकारात्मक योगदान दिने उद्देश्यले यस्ता सामाजिक पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
विद्यालय प्रशासनले यस सहयोगले विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। काठमाडौं मेरियट होटलले आगामी दिनमा पनि समुदायको उत्थानका लागि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तर अघि बढाउने जनाएको छ।