हिमाली बाटोमा ट्रायम्फको उत्साह

  • Clock icon
    २०८३ बैशाख २५, शुक्रबार

काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिअन्तर्गत ट्रायम्फ नेपालले आयोजना गरेको साहसिक मोटरसाइकल र्‍याली “ट्रायम्फ एपिक राइड : मनाङ एडिसन– ट्रेल्स अफ द माउन्टेन लेक्स” सफलतापूर्वक सम्पन्न भएको छ ।

सन् २०२६ अप्रिल २५ देखि मे १ सम्म सञ्चालन भएको सात दिने यात्रामा ट्रायम्फका राइडरहरूले नेपालको हिमाली भू–भाग, कठिन अफ–रोड मार्ग र सांस्कृतिक विविधताको विशेष अनुभव बटुलेका छन् ।

काठमाडौं र इटहरीबाट सुरु भएको यात्रामा सहभागीहरूले ट्रायम्फका लोकप्रिय मोडेल स्पीड ४००, स्क्र्याम्ब्लर ४०० एक्स तथा स्क्र्याम्ब्लर ४०० एक्ससी मोटरसाइकल प्रयोग गरेका थिए । हिमाली कच्ची सडक, जोखिमपूर्ण घुम्ती र उच्च पहाडी पासहरू पार गर्दै राइडरहरूले मोटरसाइकलको क्षमता र प्रदर्शनको परीक्षण समेत गरेका थिए ।

यस यात्राको सबैभन्दा चुनौतीपूर्ण तथा रोमाञ्चक गन्तव्य ४ हजार ६२० मिटर उचाइमा रहेको आइस लेक अर्थात् किचो ताल थियो । चामे र मनाङको अल्पाइन भू–भाग हुँदै अघि बढेका राइडरहरूले ग्रीन लेक र ब्लु लेकको मनोरम दृश्यसमेत अवलोकन गरेका थिए ।

उच्च हिमाली क्षेत्रमा ४ हजार मिटरभन्दा माथि मोटरसाइकल चलाउँदाको अनुभवले सहभागीहरूलाई नयाँ ऊर्जा र आत्मविश्वास दिएको आयोजकले जनाएको छ ।

सात दिनको यात्रामा सहभागीहरूले नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई नजिकबाट अनुभूति गर्ने अवसर पाए । पहिलो दिन नारायणगढमा भेला भएका राइडरहरू बेसिसहर र चामे हुँदै मनाङ पुगेका थिए । आइस लेकको सफल यात्रापछि टोली भारी वर्षाको सामना गर्दै चितवनको मेघौली पुगेको थियो । त्यसपछि तराईको लामो दूरी पार गर्दै जनकपुर पुगेर यात्रा समापन गरिएको थियो ।

मनाङको हिमाली शीतलता, प्राकृतिक दृश्य र जनकपुरस्थित जानकी मन्दिरको सांस्कृतिक वातावरणले यात्रालाई अझ विशेष बनाएको सहभागीहरूले बताएका छन् । यात्राका क्रममा राइडरहरूले साँघुरा हिमाली बाटो, घुमाउरा पहाडी सडक र तराईका फराकिला राजमार्गको फरक अनुभव समेत सँगालेका थिए ।

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले यो यात्रा केवल मोटरसाइकल राइड मात्र नभई अविस्मरणीय अनुभवहरूको संगालो बनेको बताए ।

उनका अनुसार “मनाङ एडिसन” ले राइडरहरूलाई प्रकृतिसँग जोड्नुका साथै साहसिक यात्राको वास्तविक आनन्द र आत्मविश्वास प्रदान गरेको छ ।

  • Clock icon
    २०८३ बैशाख २५, शुक्रबार