काठमाडाैं । लक्ष्मी सनराइज बैंकले महिला उद्यमशीलता प्रवर्द्धन तथा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय वित्त निगमसँग नयाँ सहकार्य सुरु गरेको छ ।
बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय संस्था अन्तर्राष्ट्रिय वित्त निगमसँग “बैंकिङ अन वुमन” पहलअन्तर्गत ग्लोबल डब्लुएमएसएमई सेक्स डिस्एग्रिगेटेड डेटा सहकार्य सम्झौता गरेको हो ।
उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल “महिला उद्यमी वित्त पहल” ले सहयोग गरिरहेको बैंकले जनाएको छ ।
महिला नेतृत्व तथा स्वामित्वमा रहेका साना तथा मझौला उद्यमहरूमा लगानी र वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको यो अन्तर्राष्ट्रिय प्लेटफर्मले विश्वभर महिला उद्यमीलाई प्रोत्साहन गर्दै आएको छ ।
यसैअन्तर्गत सञ्चालन हुने “वुमन आन्ट्रप्रिनर्स फाइनान्स कोड” वित्तीय संस्था, नियामक निकाय तथा वित्तीय प्रणालीसँग आबद्ध सरोकारवालाबीचको साझा प्रतिबद्धता मानिन्छ । यसको उद्देश्य महिला उद्यमीलाई आवश्यक वित्तीय स्रोतमा पहुँच दिलाउँदै आर्थिक वृद्धि र रोजगारी सिर्जनामा योगदान पुर्याउनु रहेको छ ।
सम्झौतापत्रमा लक्ष्मी सनराइज बैंकका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन् ।
सहकार्यअन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगमले बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्यांक संकलन, विश्लेषण तथा प्रयोग प्रणालीलाई थप प्रभावकारी बनाउन प्राविधिक सहयोग गर्नेछ ।
यसबाट महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यमका आवश्यकता, चुनौती र अवसरबारे स्पष्ट बुझाइ विकास हुने अपेक्षा गरिएको छ । त्यही आधारमा बैंकले महिला उद्यमीका लागि थप प्रभावकारी र उपयुक्त वित्तीय सेवा तथा समाधान विकास गर्न सक्ने विश्वास लिइएको छ ।
बैंकका अनुसार यो सहकार्यले जिम्मेवार बैंकिङ अभ्यासप्रति संस्थाको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ । साथै, महिला उद्यमशीलता विस्तार गर्दै समावेशी आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
