काठमाडौँ । ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादन गर्दै आएको कम्पनीका सञ्चालक श्रेष्ठलाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार तेलको प्याकेजिङ गर्दा तोकिएको मापदण्डभन्दा कम मात्रा राखेर बजारमा बिक्री गरिएको आरोप उनीमाथि लागेको छ ।
ललितपुरको गोदावरी नगरपालिका–५ लेलेमा रहेको उक्त उद्योगमा गरिएको अनुगमनका क्रममा प्रहरीले ९०५ कार्टुन सूर्यमुखी तेल बरामद गरेको छ ।
गोप्य सूचनाका आधारमा गरिएको अनुसन्धानमा उद्योगले उत्पादन गर्ने तेलमा तोकिएको परिमाणभन्दा कम मात्रा राखी उपभोक्तालाई बिक्री गर्ने गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक छानबिनका क्रममा पनि प्याकेजिङमा कम तौल भएको पुष्टि भएपछि कानुनी प्रक्रिया अघि बढाइएको हो ।
बरामद गरिएको तेल र पक्राउ परेका सञ्चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले उपभोक्ता हित संरक्षणका लागि यस्ता अनियमित गतिविधिविरुद्ध निगरानी र कारबाही अझ कडाइका साथ अघि बढाइने बताएको छ ।
