काठमाडौं । बहुराष्ट्रिय पेय पदार्थ कम्पनी कोका–कोला नेपाल ले नेपालभरका स्थानीय समुदाय र लामो समयदेखि समुदायको केन्द्र बनेका साना व्यवसायहरूको सम्मान गर्दै ‘लोकल्ली योर्स’ अभियान सुरु गरेको छ।
कम्पनीका अनुसार यो अभियानले टोल–छिमेकमा वर्षौंदेखि निरन्तर सेवा दिँदै आएका किराना पसल, रेष्टुरेन्ट तथा साना उद्यमीहरूको योगदानलाई उजागर गर्ने उद्देश्य राखेको छ। बिहानैदेखि रातिसम्म समुदायको सेवा गर्ने यी व्यवसायीहरूले ग्राहकसँगको सम्बन्ध, उनीहरूको रुचि र दैनिक आवश्यकतालाई नजिकबाट बुझ्दै सामाजिक जीवनको महत्वपूर्ण हिस्सा बनेको अभियानमा उल्लेख गरिएको छ।
अभियानअन्तर्गत तयार पारिएका भिडियो सामग्रीमार्फत विभिन्न स्थानीय उद्यमीहरूको व्यक्तिगत यात्रा, संघर्ष र सफलताका कथाहरू प्रस्तुत गरिएको छ। कम्पनीले यी कथाहरू केवल व्यापारिक गतिविधिमा सीमित नभई समुदायसँग जोडिएको भावनात्मक सम्बन्धको प्रतिबिम्ब भएको बताएको छ।
यो अभियानले कोका–कोला र नेपाली स्थानीय व्यवसायबीच विगत लामो समयदेखि कायम सम्बन्धलाई पनि पुनः उजागर गरेको छ। कम्पनीका अनुसार यी उद्यमीहरूले स्थानीय अर्थतन्त्र चलायमान बनाउन, रोजगारी सिर्जना गर्न र सामाजिक सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
अभियानबारे बोल्दै चन्द्रिका कलिया ले स्थानीय व्यवसायहरू समुदायको मेरुदण्ड भएको उल्लेख गर्दै कम्पनीले उत्पादनभन्दा बाहिर गएर पनि समाजसँग जोडिएका व्यक्तिहरूको सम्मान गर्न चाहेको बताइन्। उनले कोका–कोलाले विगत पाँच दशकभन्दा बढी समयदेखि नेपाली जनजीवनसँग नजिकको सम्बन्ध बनाएको पनि उल्लेख गरिन्।
त्यसैगरी अजय कानाले ले साना व्यवसायहरू केवल कम्पनीको व्यवसायिक आधार मात्र नभई समुदायको सामाजिक संरचनाको आधारस्तम्भ भएको बताए। उनका अनुसार यी व्यवसायहरूले दैनिक जीवनमा मानिसहरूबीच सम्बन्ध जोड्ने महत्वपूर्ण भूमिका खेलेका छन्।
अभियानमा सहभागी व्यवसायीहरूले पनि आफ्ना अनुभव साझा गरेका छन्। काठमाडौंस्थित डल्ले रेष्टुरेन्टका सञ्चालक आलोक कोन्जनका अनुसार कोका–कोला सुरुदेखि नै रेष्टुरेन्टको सेवा अनुभवसँग जोडिएको महत्वपूर्ण पेय बनेको छ।
त्यस्तै शेर्पा जुस सेन्टरका सञ्चालक पासाङ शेर्पाले बजारमा कोका–कोलाको सहज उपलब्धता र यसको लोकप्रियताले यसलाई दैनिक जीवनको संस्कृतिको हिस्सा बनाएको बताए।
कम्पनीले ‘लोकल्ली योर्स’ अभियानले स्थानीय व्यवसायहरूको संघर्ष, नवप्रवर्तन र समुदायप्रतिको योगदानलाई सम्मान गर्दै उनीहरूको प्रेरणादायी कथालाई उजागर गर्ने लक्ष्य राखेको जनाएको छ। यस अभियानले नेपालभरका दैनिक जीवनका खुसीका क्षणहरूमा स्थानीय व्यवसायहरूको महत्वपूर्ण भूमिका रहेको सन्देश दिएको छ।
