काठमाडौं । नेपालको पुँजी बजार र मर्चेन्ट बैंकिङ क्षेत्रमा चार दशकभन्दा लामो अनुभव सँगाल्नुभएका भीष्मराज चालिसेले नेतृत्व गरिरहेको रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले आफ्नो दोस्रो बन्दमुखी योजना ‘रिलायबल समृद्धि योजना–२’ सार्वजनिक निष्कासनमा ल्याएको छ। वैशाख २९ गतेदेखि बिक्री खुला गरिएको उक्त योजनालाई सुरक्षित, व्यवस्थित र दीर्घकालीन प्रतिफलमुखी लगानीको अवसरका रूपमा प्रस्तुत गरिएको छ।
सानिमा क्यापिटल, बिओके क्यापिटल र सिभिल क्यापिटलजस्ता संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसक्नुभएका चालिसेले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) साना लगानीकर्ताका लागि सबैभन्दा उपयुक्त माध्यम भएको बताएका छन्। उनका अनुसार स–सानो पुँजीलाई एकत्रित गरी विज्ञ टोलीमार्फत विभिन्न क्षेत्रमा लगानी गरिने भएकाले जोखिम न्यूनीकरण हुनुका साथै स्थिर प्रतिफल प्राप्त गर्न सहज हुन्छ।
उनले शेयर बजारमा व्यक्तिगत रूपमा कुन कम्पनीको शेयर कहिले किन्ने वा बेच्ने भन्ने अन्योल रहने हुँदा प्राविधिक ज्ञान र समय अभाव भएका लगानीकर्ताले विशेषज्ञ व्यवस्थापनमा आधारित कोषमार्फत लगानी गर्नु बुद्धिमानी हुने बताए। “हामी कुनै पनि कम्पनीमा लगानी गर्नुअघि त्यसको प्राविधिक अवस्था, वित्तीय सूचक र ऐतिहासिक लाभांशको विस्तृत अध्ययन गर्छौं,” उनले भने।
चालिसेका अनुसार ‘रिलायबल समृद्धि योजना–२’ रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा ल्याइएको योजना हो। बीमा कम्पनीहरूसँग संकलित प्रिमियम दीर्घकालीन दायित्वका रूपमा रहने भएकाले यस्ता कोषमार्फत दीर्घकालीन लगानी व्यवस्थापन आवश्यक हुने उनले बताए। उनका अनुसार यसले दोस्रो बजारलाई स्थायित्व दिनसमेत सहयोग पुग्नेछ।
रिलायबल क्यापिटलले आफ्नो पहिलो फण्डबाट सन्तोषजनक प्रदर्शन गरिसकेको दाबी गर्दै चालिसेले बजारमा उतारचढाव हुँदाहुँदै पनि ‘नेट एसेट भ्यालु’ (न्याभ) स्थिर राख्न सफल भएको उल्लेख गरे। सोही अनुभवलाई आधार बनाएर दोस्रो योजनामा पनि व्यवस्थित र विश्लेषणमा आधारित लगानी रणनीति अपनाइने उनले बताए।
यो १० वर्षे बन्दमुखी योजना भएकाले इकाईधनीले नगद लाभांश प्राप्त गर्ने व्यवस्था रहेको छ। कम्पनीका अनुसार पहिलो वर्षदेखि नै न्यूनतम १० प्रतिशत लाभांश वितरण सुरु गर्ने लक्ष्य राखिएको छ भने योजनाको अवधिभर वार्षिक औसत १५ प्रतिशतसम्म प्रतिफल दिने प्रक्षेपण गरिएको छ। योजनाको अन्त्यमा बाँकी रकमसमेत इकाईधनीलाई समानुपातिक रूपमा फिर्ता गरिनेछ।
म्युचुअल फण्डप्रति सर्वसाधारणको सहभागिता अझै अपेक्षाकृत न्यून रहेको स्वीकार गर्दै चालिसेले नियमनकारी निकायबाट थप जनचेतना आवश्यक रहेको बताए। नेपालमा सञ्चालनमा रहेका म्युचुअल फण्डहरूले विगतमा राम्रो प्रतिफल दिएको तथ्याङ्कले पनि यसको विश्वसनीयता पुष्टि गर्ने उनको भनाइ छ।
उनका अनुसार संस्थागत लगानीकर्ताले ठूलो मात्रामा लगानी गरिरहनु स्वयं म्युचुअल फण्डप्रतिको विश्वासको संकेत हो। “यदि प्रतिफल राम्रो नहुने भए संस्थागत लगानीकर्ताले करोडौँ रुपैयाँ लगानी गर्ने थिएनन्,” उनले भने। हाल करिब ४० देखि ५० हजार साना लगानीकर्ता म्युचुअल फण्डमा आबद्ध रहेको उनले जानकारी दिए।
चालिसेले अहिले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि नीतिगत कारणले सबै रकम एउटै क्षेत्रमा लगानी गर्न नसकिने अवस्था रहेको बताए। तर, म्युचुअल फण्डमा लगानी गरेका संस्थाहरू भने प्राप्त नतिजाबाट सन्तुष्ट रहेको उनको दाबी छ।
उनले व्यक्तिगत रूपमा दोस्रो बजारमा लगानी गर्दा घाटा व्यहोर्ने उदाहरण धेरै भए पनि म्युचुअल फण्डमा लगानी गरेर पूर्ण रूपमा डुबेको उदाहरण नरहेको बताए। “१० वर्षको अवधिमा हेर्दा यस्तो कोषले सन्तुलित र आकर्षक प्रतिफल दिने आधार स्पष्ट छ,” उनले उल्लेख गरे।
शेयर बजारमा उतारचढाव भइरहेका बेला नयाँ फण्ड ल्याउनु चुनौतीपूर्ण भए पनि विविधीकरणका कारण जोखिम व्यवस्थापन सम्भव हुने चालिसेको भनाइ छ। उनका अनुसार रिलायबल क्यापिटलले एउटै क्षेत्र वा कम्पनीमा केन्द्रित नभई विभिन्न सुरक्षित र सम्भावनायुक्त क्षेत्रमा लगानी फैलाउने रणनीति अपनाउँछ।
रिलायबल क्यापिटलले आगामी दिनमा खुलामुखी (ओपन इन्डेड) फण्ड सञ्चालन गर्ने दीर्घकालीन लक्ष्य राखेको पनि उनले जानकारी दिए। केही बन्दमुखी योजनाहरू सफलतापूर्वक सञ्चालन गरेर लगानीकर्ताको विश्वास अझ मजबुत बनाएपछि नयाँ वित्तीय उपकरण र नवीन योजनाहरू बजारमा ल्याइने उनले बताए।
