काठमाडौँ । एमएडब्लू वृद्धि अन्तर्गतको फोटोन मोटर नेपाल ले ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन्समा कस्टमर मिट एण्ड ग्रिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम २५ वैशाख २०८३ मा आयोजना गरिएको हो।
कार्यक्रममा काठमाडौं उपत्यकाभरिका विद्यमान ग्राहक, सम्भावित खरिदकर्ता, फ्लीट सञ्चालक, व्यवसायिक अपरेटर तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो। उनीहरूबीच आफ्ना अनुभव, अपेक्षा र सुझावबारे खुला तथा प्रत्यक्ष छलफल गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रमको मुख्य उद्देश्य ग्राहकको प्रत्यक्ष प्रतिक्रिया संकलन गर्नु रहेको थियो। सहभागीहरूले आफ्ना स्वामित्व अनुभव, सेवा सम्बन्धी आवश्यकता तथा सुधारका सुझावहरू साझा गरेका थिए। सम्भावित खरिदकर्ताहरूले फोटोनका विभिन्न कमर्सियल सवारी साधनबारे जानकारी लिने तथा कम्पनीको टोलीसँग प्रत्यक्ष प्रश्न गर्ने अवसर पनि पाएका थिए।
काठमाडौँ उपत्यकामा बढ्दो शहरी ढुवानी, स्कुल यातायात तथा व्यवसायिक फ्लीट सञ्चालनलाई ध्यानमा राख्दै कम्पनीले ग्राहकको आवश्यकता बुझ्न र सेवा सुधार गर्न यस्तो संवाद कार्यक्रमलाई महत्वपूर्ण मानेको छ।
आफ्टर–सेल्स सेवा सम्बन्धी विषय पनि कार्यक्रमको प्रमुख छलफल बिन्दु बनेको थियो। ग्राहकहरूले सेवा पहुँच, स्पेयर पार्ट्स उपलब्धता, मर्मत गुणस्तर र प्रतिक्रिया समयबारे आफ्ना धारणा राखेका थिए। कम्पनीका अनुसार यी सुझावहरू सेवा सुधार र ग्राहक सन्तुष्टि वृद्धि गर्न प्रयोग गरिनेछ।
नेपालमा विद्युतीय कमर्सियल सवारी साधनको माग बढ्दै गएको सन्दर्भमा फोटोन नेपालले आफ्नो ईभी इकोसिस्टमप्रति विश्वास मजबुत बनाउने उद्देश्य पनि राखेको छ। ग्राहकहरूलाई एमएडब्लू वृद्धि मार्फत प्रदान गरिने सेवा नेटवर्क, प्राविधिक सहयोग तथा स्पेयर पार्ट्स व्यवस्थापनबारे पनि जानकारी दिइएको थियो।
कम्पनीले देशभर विस्तार भइरहेको आफ्नो सर्भिस नेटवर्कमार्फत ग्राहकलाई विश्वसनीय सेवा, जेनुइन स्पेयर पार्ट्स र दक्ष प्राविधिक सहयोग उपलब्ध गराइरहेको जनाएको छ।
एमएडब्लू वृद्धि कमर्सियलले नेपालमा कमर्सियल मोबिलिटी सोलुसनलाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित काम गरिरहेको छ। फोटोन सवारी साधनको आधिकारिक वितरकका रूपमा कम्पनीले ग्राहक सन्तुष्टि, विश्वसनीयता र दीर्घकालीन सेवा सुदृढीकरणमा जोड दिँदै आएको छ।
