काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्ममा वित्तीय मिश्रित नतिजा सार्वजनिक गरेको छ। कम्पनीको खुद नाफा घटे पनि सम्पत्ति र बीमा शुल्क आर्जनमा भने सुधार देखिएको छ।
कम्पनीले समीक्षा अवधिमा ५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो, जसअनुसार नाफा ७८ प्रतिशतले घटेको हो।
तर खुद बीमा शुल्क आर्जन भने सकारात्मक देखिएको छ। अघिल्लो वर्ष ४९ करोड ५२ लाख रुपैयाँ रहेको खुद बीमा शुल्क बढेर ५३ करोड ४३ लाख रुपैयाँ पुगेको छ। कुल बीमा शुल्क पनि १ अर्ब ६८ करोड ५६ लाख रुपैयाँबाट बढेर १ अर्ब ९७ करोड २३ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।
कम्पनीको कुल आम्दानीमा भने गिरावट देखिएको छ। गत वर्ष १ अर्ब २ करोड ६४ लाख रुपैयाँ रहेको कुल आम्दानी घटेर ९० करोड १० लाख रुपैयाँमा सीमित भएको छ। यसैबीच, कुल खर्च ६९ करोड २८ लाख रुपैयाँबाट बढेर ८२ करोड ७६ लाख रुपैयाँ पुगेको छ।
नाफा घटेसँगै प्रति शेयर आम्दानी (ईपीएस) मा पनि ठूलो गिरावट आएको छ। गत वर्ष १५ रुपैयाँ ५७ पैसा रहेको ईपीएस घटेर ३ रुपैयाँ १९ पैसामा सीमित भएको छ। कम्पनीको मूल्य–आम्दानी अनुपात १५५.५ गुणा कायम भएको छ भने प्रति शेयर नेटवर्थ १५३ रुपैयाँ ४ पैसा रहेको छ।
सम्पत्तिको आधारमा भने कम्पनीको स्थिति विस्तार भएको देखिन्छ। कुल सम्पत्ति ८ अर्ब १८ करोड १२ लाख रुपैयाँबाट बढेर ८ अर्ब ८८ करोड ६० लाख रुपैयाँ पुगेको छ।
त्यस्तै जगेडा कोष १ अर्ब ९२ करोड ७५ लाख रुपैयाँ, महाविपत्ति कोष ४ करोड ८५ लाख रुपैयाँ र स्पेशल रिजर्भ ७७ करोड ५२ लाख रुपैयाँ पुगेको छ। कम्पनीले हाल ३ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ।
समग्रमा नाफामा गिरावट भए पनि बीमा व्यवसाय र सम्पत्ति विस्तारले कम्पनीको दीर्घकालीन वित्तीय आधार भने अझै मजबुत रहेको देखिएको छ।
