कामिरिताको नयाँ कीर्तिमान

काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनले आइतबार बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर ऐतिहासिक उपलब्धि थपेका हुन्।

सेभेन समिट ट्रेक्सका अनुसार ३२औं पटकको सफल आरोहणपछि कामिरिता शेर्पा र उनको टोली अहिले सुरक्षित रूपमा आधार शिविरतर्फ फर्किने क्रममा छन्। कम्पनीले सामाजिक सञ्जालमार्फत उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौंमा भव्य स्वागतको तयारी भइरहेको जनाएको छ।

‘एभरेस्ट म्यान’ उपनामले परिचित कामिरिता शेर्पा विश्वमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही हुन्। सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका उनले त्यसयता निरन्तर पर्वतारोहण क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएका छन्।

उनलाई नेपालको राष्ट्रिय गौरव मात्र नभई विश्व पर्वतारोहण समुदायको प्रेरणादायी व्यक्तित्वका रूपमा लिइन्छ। ३२औं सफल आरोहणसँगै उनले आफ्नो कीर्तिमानी यात्रालाई थप मजबुत बनाएका छन्।