काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले बजारबाट फेरि ३० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्दै वित्तीय स्थायित्व कायम राख्ने उद्देश्यसहित केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम प्रशोचन गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ । यस उपकरणमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ३० अर्ब रुपैयाँसम्म आवेदन दिन सक्नेछन् ।
केन्द्रीय बैंकले आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव गर्नुपर्ने व्यवस्था गरेको छ । यसले बोलकबोल प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको प्रक्रिया ब्याजदर प्रतिस्पर्धाका आधारमा हुनेछ । सहभागी संस्थाहरूले बहुब्याजदर प्रणाली अन्तर्गत एकभन्दा बढी बोलकबोल पनि पेश गर्न सक्ने सुविधा पाउनेछन् ।
यस उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्रै सहभागिता जनाउन पाउनेछन् । अर्थात् वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरू यस प्रक्रियामा सहभागी हुन सक्नेछन् ।
केन्द्रीय बैंकले जारी गर्न लागेको यो निक्षेप संकलन उपकरण ९१ दिन अवधिको हुनेछ । यसअन्तर्गत संकलित रकमको साँवा तथा ब्याज आगामी भदौ ३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो समय कर्जाको माग सुस्त बन्दै जाँदा बैंकहरूमा तरलता थुप्रिने क्रम बढेको छ । यही अवस्थालाई सन्तुलनमा राख्न राष्ट्र बैंकले निरन्तर रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै बजारबाट अतिरिक्त रकम तानिरहेको छ ।
