कुमारी बैंकले सेवा सुदृढ गर्न शाखा समायोजन

काठमाडौँ । कुमारी बैंक लिमिटेडले काठमाडौँ जिल्लाभित्र सञ्चालित आफ्ना ७ वटा शाखा कार्यालयहरूलाई नजिकका अन्य शाखाहरूसँग समायोजन (एकीकरण) गर्ने भएको छ । बैंकले आगामी २०८३ भदौ २ गतेदेखि लागू हुने गरी शाखा समायोजनमार्फत सेवा सञ्चालन गर्ने जनाएको छ ।

बैंकले सार्वजनिक सूचना जारी गर्दै ग्राहक सेवा थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि यो निर्णय गरिएको स्पष्ट पारेको छ ।

समायोजन योजनाअनुसार कुलेश्वर शाखा कालीमाटी शाखासँग गाभिनेछ भने रामहिटी शाखा बौद्ध शाखामा समायोजन हुनेछ । त्यस्तै, रातोपुल शाखा मैतीदेवी शाखासँग एकीकृत गरिनेछ ।

यसैगरी कोटेश्वर शाखा तिनकुने शाखामा, पानीपोखरी शाखा महाराजगञ्ज शाखामा, ठँहिटी शाखा ठमेल शाखामा तथा सामाखुसी शाखा गोंगबु शाखामा समायोजन हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार समायोजन हुने शाखाहरूबीचको दूरी करिब ३०० मिटरदेखि अधिकतम २ किलोमिटरको दायराभित्र रहेको छ, जसले ग्राहक सेवामा कुनै ठूलो असुविधा नहुने अपेक्षा गरिएको छ ।

समायोजनपछि सम्बन्धित ग्राहकहरूले अब कालीमाटी, बौद्ध, मैतीदेवी, तिनकुने, महाराजगञ्ज, ठमेल र गोंगबु शाखाबाट सबै बैंकिङ सेवा तथा सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकले शाखा पुनर्संरचनामार्फत सञ्चालन दक्षता बढाउने र डिजिटल तथा आधुनिक बैंकिङ सेवामा जोड दिने उद्देश्य रहेको जनाएको छ ।