क्यान महासंघको नेतृत्वमा चिरञ्जीवी अधिकारी, डिजिटल रूपान्तरणको समयमा अनुभवी नेतृत्वप्रति बढ्दो भरोसा

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको अग्रणी संस्था कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) मा नेतृत्व परिवर्तन भएको छ। महासंघकी पहिलो महिला अध्यक्ष सुनैना घिमिरे पाण्डे ले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष तथा साइबर सुरक्षा बिज्ञ चिरञ्जीवी अधिकारी ले बाँकी कार्यकालका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।

अटोमेसन, क्लाउड प्रविधि, साइबर सुरक्षा र डिजिटल पूर्वाधार विस्तारसँगै नयाँ चुनौतीहरू थपिइरहेका समयमा अनुभवी नेतृत्वको आवश्यकता महसुस भइरहेका बेला अधिकारीको आगमनलाई सकारात्मक रूपमा लिइएको छ।

चिरञ्जीवी अधिकारी क्यान महासंघभित्र दुई दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएका व्यक्ति हुन्। करिब २१ वर्षको संस्थागत यात्रामा उनले महासंघको स्थानीय तहदेखि केन्द्रीय नेतृत्वसम्म विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। वरिष्ठ उपाध्यक्ष तथा आइसिटी नीति संयोजकका रूपमा उनले सरकारी निकायसँग नीतिगत समन्वय गर्दै डिजिटल नीति निर्माणमा सक्रिय भूमिका खेलेका छन्। त्यसअघि उपाध्यक्ष, महासचिव, सचिव तथा केन्द्रीय कार्यसमिति सदस्यका रूपमा पनि उनले संगठन सञ्चालन र नीतिगत निर्णय प्रक्रियामा महत्वपूर्ण योगदान दिएका थिए।

युवा पुस्तालाई सूचना प्रविधि क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले गठन गरिएको ‘युथ इन आइसिटी’ समितिका संस्थापक संयोजकसमेत रहेका अधिकारीले नेपाली युवा, विद्यार्थी र नवप्रवर्तकहरूलाई प्रविधिसँग जोड्ने अभियानमा विशेष भूमिका निर्वाह गरेका छन्। त्यसैगरी क्यान महासंघ चितवन शाखाका संस्थापक कोषाध्यक्षका रूपमा उनले जिल्ला तहबाटै संगठन निर्माण र संस्थागत आधार मजबुत बनाउने काममा योगदान पुर्‍याएका थिए।

प्रविधि क्षेत्रका जानकारहरूका अनुसार नेपालमा डिजिटल अर्थतन्त्र विस्तार भइरहेका बेला क्यान महासंघले अब नीतिगत नेतृत्व, साइबर सुरक्षा सुदृढीकरण र निजी क्षेत्रसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ। यस्तो अवस्थामा लामो अनुभव, संस्थागत समझदारी र प्राविधिक पृष्ठभूमिका कारण अधिकारीको नेतृत्वप्रति सूचना प्रविधि क्षेत्रले अपेक्षा र भरोसा दुवै राखेको छ।