पञ्चकन्या स्टीलमा नयाँ उत्साह

काठमाडौं । पञ्चकन्या स्टील प्राली को व्यापार पुनः लयमा फर्किएको छ । निर्माण क्षेत्रमा माग बढ्दै जानु र बजारमा देखिएको क्रमिक सुधारका कारण कम्पनीको वित्तीय अवस्था बलियो बन्न थालेको हो।

आर्थिक वर्ष २०२४/२५ को वित्तीय विवरणअनुसार कम्पनीले निर्माण कार्यमा प्रयोग हुने डण्डी बिक्रीबाट ४ अर्ब ११ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको आम्दानी ३ अर्ब ६५ करोड ७० लाख रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको व्यापार एक वर्षमै १२.५९ प्रतिशतले बढेको छ। यसअघि आर्थिक वर्ष २०२२/२३ मा कम्पनीले ५ अर्ब ११ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो।

व्यापारमा सुधार देखिए पनि तीव्र प्रतिस्पर्धा र कच्चा पदार्थको मूल्यमा हुने उतारचढावले कम्पनीको नाफामा भने दबाब कायम रहेको छ। तीन वर्षअघि ९.२८ प्रतिशत रहेको सञ्चालन नाफा दर सन् २०२४ मा घटेर ७.८० प्रतिशतमा झरेको थियो। सन् २०२५ मा भने केही सुधार हुँदै यो दर ८.६८ प्रतिशत पुगेको छ।

कम्पनीले भारतबाट फलामको बिलेट आयात गरेर डण्डी उत्पादन गर्दै आएको छ। कच्चा पदार्थको लागत कुल सञ्चालन आम्दानीको करिब ७३ प्रतिशत रहेको छ। अमेरिकी डलरमा भुक्तानी गर्नुपर्ने भएकाले विदेशी विनिमय दरको उतारचढावले पनि कम्पनीलाई अतिरिक्त जोखिम थपेको छ।

कम्पनीमा आफ्नै लगानीको तुलनामा बैंक ऋणको हिस्सा अझै उच्च देखिएको छ। सन् २०२३ मा १ रुपैयाँ आफ्नै लगानी बराबर ४ रुपैयाँ २ पैसा ऋण रहेकोमा सन् २०२४ मा यो अनुपात बढेर ४ रुपैयाँ १४ पैसा पुगेको थियो। तर सन् २०२५ मा कम्पनीले कमाएको नाफा र सञ्चालकहरूको थप लगानीका कारण यो अनुपात घटेर ३ रुपैयाँ ४९ पैसामा झरेको छ।

त्यस्तै कम्पनीको खुद नगद बचतको तुलनामा ऋणको आकार अझै ५० गुणाभन्दा बढी रहेको छ। सन् २०२४ मा कम्पनीले नगद नोक्सानी व्यहोरेकाले ऋण तिर्न सक्ने क्षमता ऋणात्मक बनेको थियो। तर पछिल्लो वर्ष वित्तीय अवस्थामा सुधार आएको देखिएको छ।

कम्पनीको चालु अनुपात पछिल्ला तीन वर्षमा क्रमशः १.२२, १.६३ र २.३७ गुणा पुगेको छ, जसले तरलता अवस्थामा सुधार भइरहेको संकेत गरेको छ। ब्याज तिर्न सक्ने क्षमता पनि सन् २०२४ मा ०.८९ गुणा रहेकोमा सन् २०२५ मा बढेर १.२१ गुणा पुगेको छ।

हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६५ करोड ९२ लाख रुपैयाँ दीर्घकालीन र ४ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ अल्पकालीन गरी कुल ५ अर्ब १४ करोड ३१ लाख रुपैयाँ कर्जा उपयोग गरिरहेको छ।

उच्च ऋण भार र बजारबाट रकम उठ्न लाग्ने लामो समयका कारण केही दबाब रहे पनि पछिल्लो समय आम्दानी तथा वित्तीय सूचकमा आएको सुधारपछि केयर रेटिङ्ग्स नेपाल ले कम्पनीको कर्जा साखलाई सकारात्मक संकेतसहित निगरानी सूचीमा राखेको छ।

सरकारले सडक, पुल, विमानस्थल तथा पूर्वाधार क्षेत्रमा निरन्तर लगानी बढाइरहेकाले स्वदेशी डण्डी उत्पादक कम्पनीहरूको दीर्घकालीन माग बलियो रहने अपेक्षा गरिएको छ।

सन् १९९५ मा स्थापना भएको पञ्चकन्या स्टीलको वार्षिक उत्पादन क्षमता १ लाख ५० हजार मेट्रिक टन रहेको छ। पाँच दशकभन्दा लामो इतिहास बोकेको पञ्चकन्या समूहको व्यावसायिक आधार, नेपालभर रहेका ९० भन्दा बढी विक्रेता तथा ७ वटा आफ्नै डिपोहरूको सञ्जालले आगामी दिनमा कम्पनीको व्यापार अझ विस्तार हुने विश्वास गरिएको छ।