एमएसएमईमा नयाँ लगानी सहयोग

काठमाडौं । बेलायतको विकास वित्त संस्था तथा प्रभावमुखी लगानीकर्ता ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंक लिमिटेड बीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता सम्पन्न भएको छ। यस सहकार्यको मुख्य उद्देश्य नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्नुका साथै महिला उद्यमीलाई प्रोत्साहन गर्नु हो।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा एमएसएमई क्षेत्रको योगदान करिब २२ प्रतिशत रहेको छ भने यसले झन्डै २० लाख रोजगारी सिर्जना गरेको छ। तर विश्व बैंक र नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार सीमित वित्तीय पहुँचका कारण केवल १६ प्रतिशत एमएसएमई मात्र औपचारिक बैंकिङ प्रणालीमार्फत कर्जा सुविधा प्राप्त गर्न सक्षम छन्।

यस सम्झौताअन्तर्गत लक्ष्मी सनराइज बैंकले एमएसएमई क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्नेछ। कुल कर्जा सुविधामध्ये ३० प्रतिशत हिस्सा विशेष रूपमा महिला नेतृत्वमा रहेका व्यवसायका लागि छुट्याइनेछ। यसले वित्तीय पहुँचबाट वञ्चित उद्यमीलाई पूँजी उपलब्ध गराई रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

बैंकले महिला आर्थिक सशक्तीकरणसम्बन्धी विश्वव्यापी पहल ‘टु एक्स च्यालेन्ज’ अन्तर्गत मान्यता प्राप्त गरेको छ। साथै, ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टको प्राविधिक सहयोग कार्यक्रम ‘नेपालमा प्रभावका लागि लगानी’ मार्फत महिला स्वामित्व तथा नेतृत्वमा रहेका व्यवसायलाई सेवा विस्तार गर्न सहयोग पुग्नेछ।

यस सहकार्यले बैंकको वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउने र दिगो वित्तीय अभ्यासलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

यस अवसरमा बेलायतकी हिन्द–प्रशान्त मामिला तथा समानता मन्त्री सीमा मल्होत्राले नेपालसँगको दीर्घकालीन साझेदारी अझ सुदृढ हुँदै गएको बताउँदै महिला उद्यमशीलता विस्तारमा यस्तो सहकार्य महत्वपूर्ण रहेको उल्लेख गरिन्।

त्यस्तै ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका एसिया क्षेत्र प्रमुख श्रीनी नागराजनले नेपाललाई आफ्नो रणनीतिक प्राथमिकताको महत्वपूर्ण हिस्सा बताउँदै समावेशी आर्थिक विकासमा यस्ता लगानीले दीर्घकालीन प्रभाव पार्ने बताए।

लक्ष्मी सनराइज बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराईले यो सहकार्य समावेशी र दिगो बैंकिङतर्फको महत्वपूर्ण कदम भएको बताउँदै यसले देशभरका उद्यमीलाई वित्तीय अवसर विस्तार गर्ने विश्वास व्यक्त गरे।

लक्ष्मी सनराइज बैंक लिमिटेड नेपालको प्रमुख वाणिज्य बैंकमध्ये एक हो जसले २५४ शाखा, ३२७ एटीएम र डिजिटल बैंकिङ सञ्जालमार्फत देशभर सेवा प्रदान गर्दै आएको छ।

ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट बेलायत सरकारअन्तर्गतको विकास वित्त संस्था हो जसले विकासशील देशहरूमा लगानी गरी रोजगारी, दिगो विकास र गरिबी न्यूनीकरणमा योगदान पुर्‍याउँदै आएको छ।