नेपाल–रोमानिया व्यापार नयाँ मोडमा

काठमाडौं । नेपाल र रोमानियाबीच व्यापार, लगानी तथा श्रम सहकार्य विस्तार गर्ने उद्देश्यसहित काठमाडौँमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा दुई देशका उद्यमी, सरकारी प्रतिनिधि तथा निजी क्षेत्रका सरोकारवालाबीच आर्थिक सहकार्यका नयाँ सम्भावनाबारे विस्तृत छलफल भएको हो।

नेपाल तयारी पोशाक उद्योग संघको आयोजनामा सम्पन्न “आरएमजी क्षेत्र तथा नेपाल–रोमानिया व्यापार मञ्च” कार्यक्रममा व्यापार, लगानी, पर्यटन तथा सुरक्षित श्रम आप्रवासनका विविध पक्षमा विचार आदानप्रदान गरिएको थियो।

कार्यक्रममा नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले नेपालबाट रोमानियातर्फ निर्यात विस्तार हुँदै गएको जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले रोमानियातर्फ करिब ११ लाख ७० हजार अमेरिकी डलर बराबरको निर्यात गरेको छ भने रोमानियाबाट नेपालमा करिब ६ लाख ९० हजार अमेरिकी डलर बराबरको आयात भएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले नेपाल र रोमानियाबीच आर्थिक साझेदारीको ठूलो सम्भावना रहेको बताए। उनले पूर्वाधार, जलविद्युत्, पर्यटन, कृषि तथा सूचना प्रविधि क्षेत्रमा रोमानियाली लगानी आकर्षित गर्न नेपाल तयार रहेको उल्लेख गरे।

नेपाल, भारत र बंगलादेशका लागि रोमानियाकी राजदूत सेना लतिफले नेपालमा कार्यरत श्रमिकहरूको योगदानप्रति प्रशंसा व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुँदै गएको बताइन्। रोमानियाका आर्थिक कन्सुलर इओनुत भिजिरुले रोमानियाको आर्थिक अवस्था र लगानी अवसरबारे प्रस्तुति दिएका थिए।

कार्यक्रममा नेपाल तयारी पोशाक उद्योग संघ र रोमानियाको वाणिज्य तथा उद्योग चेम्बरबीच भएको सहकार्य प्रोटोकलले व्यापार, सीप विकास, पूर्वाधार तथा ई–कमर्स क्षेत्रमा नयाँ अवसर सिर्जना गरेको जानकारी दिइयो।

नेपाल–रोमानिया चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीकी अध्यक्ष बबिता पाण्डेले यो सहकार्यले दुई देशका व्यवसायीबीच दीर्घकालीन सम्बन्ध निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

रोमानियाली चेम्बरकी प्रतिनिधि निकोलेटा इओआना चिउफुडियनले अन्तर्राष्ट्रिय व्यापार विस्तारमा यस्तो सहकार्यले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रमको समापन गर्दै नेपाल तयारी पोशाक उद्योग संघका प्रथम उपाध्यक्ष वसन्त राज अधिकारीले दुई देशबीचको संवादले आगामी दिनमा ठोस आर्थिक परिणाम दिने विश्वास व्यक्त गरे।