महानगरले खेलकुदमा नयाँ सहकार्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनका लागि विभिन्न खेल संघसंस्थासँग महत्वपूर्ण सम्झौता गरेको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच तीन वटा ठूला प्रतियोगिता सञ्चालन गर्ने गरी सम्झौता गरिएको हो ।

कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोको उपस्थितिमा नेपाल पौडी संघ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ र बागमती प्रदेश क्रिकेट संघसँग अलग–अलग सम्झौता गरिएको हो ।

सम्झौताअनुसार नेपाल पौडी संघले “मेयर कप पौडी प्रतियोगिता” सञ्चालन गर्नेछ । त्यस्तै, काठमाडौं जिल्ला ब्याडमिन्टन संघले वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्नेछ भने बागमती प्रदेश क्रिकेट संघले “टी–२० पीएल सिंह कप क्रिकेट प्रतियोगिता” सञ्चालन गर्ने जिम्मेवारी पाएको छ ।

महानगरपालिकाले स्थानीय तहबाटै खेलकुद संरचना सुदृढ गर्दै युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्य लिएको जनाएको छ । खेलकुदमार्फत प्रतिभा पहिचान र विकासलाई प्राथमिकता दिँदै आगामी दिनमा थप प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको महानगरले स्पष्ट पारेको छ ।