काठमाडौं। नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढ्दै गएको भए पनि उनीहरूको औसत दैनिक खर्च भने घटेको देखिएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सन् २०२५ मा नेपाल आउने पर्यटकको प्रतिदिन औसत खर्च १९ प्रतिशतले घटेको हो।
अर्थमन्त्री डा स्वर्णीम वाग्ले ले बुधबार प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार सन् २०२४ मा एक पर्यटकले दैनिक औसत ४० दशमलव ८४ अमेरिकी डलर खर्च गर्ने गरेकोमा सन् २०२५ मा यो रकम घटेर ३३ दशमलव शून्य आठ अमेरिकी डलरमा सीमित भएको छ।
सर्वेक्षणका अनुसार सन् २०२५ देखि केन्द्रीय विद्युतीय पर्यटन व्यवस्थापन सूचना प्रणाली (सिटिएमआइएस) मार्फत अध्यागमन विभागले पर्यटकको आगमन र प्रस्थान मिति स्वचालित रूपमा प्रविष्ट गर्न थालेपछि औसत खर्चको गणना प्रणालीमा परिवर्तन गरिएको छ। यही व्यवस्थाका कारण खर्चको तथ्याङ्कमा कमी देखिएको उल्लेख गरिएको छ।
यद्यपि, पर्यटक आगमन संख्या भने बढ्दो क्रममा रहेको छ। सर्वेक्षणले सन् २०२५ मा नेपाल आउने पर्यटक संख्या एक दशमलव तीन प्रतिशतले वृद्धि भएर ११ लाख ६२ हजार ३६५ पुगेको देखाएको छ। सन् २०२४ मा नेपाल भ्रमण गर्ने पर्यटक संख्या ११ लाख ४७ हजार ५४८ रहेको थियो।
नेपाल पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कुमारमणि थपलिया ले पर्यटक संख्या बढ्नु सकारात्मक भए पनि खर्च घट्नु पर्यटन क्षेत्रका लागि चुनौतीपूर्ण विषय भएको बताएका छन्। उनका अनुसार नेपाल आउने पर्यटकले यातायात तथा यात्रामै ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता भएकाले अन्य क्षेत्रमा खुला रूपमा खर्च गर्ने अवस्था कमजोर रहेको छ।
सर्वेक्षणअनुसार नेपाल आउने पर्यटकमध्ये ६० दशमलव दुई प्रतिशत बिदा तथा मनोरञ्जनका लागि आउने गरेका छन्। तीमध्ये १४ दशमलव चार प्रतिशत धार्मिक तथा तीर्थयात्राका लागि नेपाल आउने गरेका छन् भने १४ दशमलव दुई प्रतिशत पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल आउने तथ्याङ्कमा उल्लेख छ।
त्यस्तै व्यापार, अध्ययन, भ्रमण तथा अन्य प्रयोजनका लागि आउने पर्यटकको हिस्सा ११ दशमलव दुई प्रतिशत रहेको छ।
नेपाल भ्रमण गर्ने पर्यटकको औसत बसाइ अवधि पनि बढेको देखिएको छ। सन् २०२४ मा एक पर्यटक औसत १३ दशमलव ३० दिन नेपाल बस्ने गरेका थिए भने सन् २०२५ मा यो अवधि बढेर १६ दशमलव ३४ दिन पुगेको छ।
सन् २०२५ मा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट करिब दुई लाख ९३ हजार आएका छन्। त्यसपछि अमेरिकाबाट एक लाख १३ हजार, चीनबाट ९६ हजार, बेलायतबाट ५९ हजार, बङ्गलादेशबाट ५८ हजार, अष्ट्रेलियाबाट ५० हजार, श्रीलङ्काबाट ३८ हजार, थाइल्यान्डबाट ३० हजार, जर्मनीबाट ३० हजार र जापानबाट २५ हजार पर्यटक नेपाल आएका छन्। अन्य मुलुकबाट आउने पर्यटक संख्या तीन लाख ७१ हजार रहेको छ।
तथ्याङ्कअनुसार पर्यटन क्षेत्रबाट हुने भ्रमण आय भने बढ्दो क्रममा रहेको छ। सन् २०२५ मा भ्रमण आय चार दशमलव आठ प्रतिशतले वृद्धि भएको सर्वेक्षणले देखाएको छ। गत आर्थिक वर्षमा पर्यटन क्षेत्रबाट नेपालले ८३ अर्ब ३९ करोड ४० लाख रुपैयाँ बराबरको आम्दानी गरेको उल्लेख गरिएको छ।
पर्यटन क्षेत्रका जानकारहरूले पर्यटकको बसाइ अवधि बढ्नु सकारात्मक संकेत भए पनि उनीहरूको खर्च क्षमता वृद्धि गर्न सेवा, पूर्वाधार र उच्चस्तरीय पर्यटन गतिविधिमा थप सुधार आवश्यक रहेको बताएका छन्।
