सिजी होटेल्सले पर्यटन सेवा विस्तारलाई नयाँ उचाइमा

  • Clock icon
    २०८३ जेष्ठ १५, शुक्रबार

काठमाडौँ । सिजी होल्डिङ्सअन्तर्गत सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरू अब ‘सिजी होटल्स एण्ड रिसोर्ट’ नामक एउटै ब्रान्ड छाताभित्र सञ्चालन हुने भएका छन्। बिहीबार ललितपुरको द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सूर्यान्श चौधरीले सबै होटल तथा रिसोर्टलाई एउटै व्यवस्थापन संरचनामा समेटिएको जानकारी दिएका हुन्।

कम्पनीका अनुसार सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गत ललितपुरको पुलचोकस्थित पाँच तारे क्राउन प्लाजा, द प्लाजा, चितवनको जगतपुरस्थित टाइगरल्याण्ड सफारी, नगरकोटको भंगेरी दरबार रिसोर्ट र काठमाडौंको बुढानिलकण्ठस्थित मेराकी वेलनेस रिट्रिट समावेश गरिएका छन्। आगामी दिनमा सञ्चालनमा आउने नयाँ होटल तथा रिसोर्ट पनि यही ब्रान्ड संरचनाभित्र रहने कम्पनीले जनाएको छ।

पुलचोकस्थित क्राउन प्लाजा होटल विसं २०८३ भित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। होटलको व्यवस्थापन अन्तर्राष्ट्रिय हस्पिटालिटी समूह इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आईएचजी) ले गर्नेछ। सोल्टी होटलको व्यवस्थापनपछि करिब ६ वर्षपछि आईएचजी पुनः नेपालमा सिजी होल्डिङ्समार्फत प्रवेश गर्न लागेको हो।

क्राउन प्लाजा होटलमा १७५ कोठा रहनेछन्। होटलमा रुफटपसहित विभिन्न रेस्टुरेन्ट, ६ वटा सभा हल तथा पाँच हजार वर्गफिटको ठूलो हल रहनेछ। २०७६ वैशाखमा शिलान्यास गरिएको यो होटल आधुनिक लक्जरी सुविधासहित तयार भइरहेको कम्पनीले जनाएको छ। होटलबाट काठमाडौं उपत्यकाको ३६० डिग्री दृश्य अवलोकन गर्न सकिने र रुफटप प्लाजा प्रमुख आकर्षण रहनेछ।

नगरकोटस्थित भंगेरी दरबार रिसोर्ट आठ वर्षअघि निर्माण सुरु भई गत वैशाखदेखि सञ्चालनमा आएको हो। चन्द्र शमशेरको ऐतिहासिक भंगेरी दरबारको नामबाट प्रेरित यस रिसोर्टमा ५१ वटा कोठा छन्। यहाँबाट सगरमाथासहित हिमश्रृंखला, सूर्योदय तथा आसपासका पहाडी बस्तीको दृश्य अवलोकन गर्न सकिन्छ।

चितवनको जगतपुरस्थित टाइगरल्याण्ड सफारी रिसोर्टलाई पनि सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गत समेटिएको छ। लेमन ट्रीको व्यवस्थापनमा सञ्चालन भइरहेको यो रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जको उत्तरी सीमामा अवस्थित छ। जंगल थिममा आधारित रिसोर्टमा ३२ वटा निजी भिल्ला रहेका छन् भने जिप सफारी, क्यानोइङ, जंगल वाक, थारु सांस्कृतिक कार्यक्रमजस्ता गतिविधि सञ्चालन हुँदै आएका छन्।

ललितपुरको द प्लाजा देशकै सबैभन्दा ठूलो मल्टिभेन्यु स्पेसका रूपमा परिचित छ। यहाँ १२ हजार वर्गफिटको हलमा एकैसाथ दुई हजार पाँच सयभन्दा बढी व्यक्ति सहभागी हुन सक्ने सुविधा छ। विवाह, सम्मेलन, कर्पोरेट कार्यक्रम तथा सांस्कृतिक गतिविधिका लागि अत्याधुनिक प्रविधिसहितको सुविधा उपलब्ध गराइएको छ।

त्यस्तै, बुढानिलकण्ठस्थित मेराकी वेलनेस रिट्रिटलाई पनि सिजी होटल्स अन्तर्गत समेटिएको छ, जसले वेलनेस र प्राकृतिक वातावरणमा आधारित आवासीय अनुभव प्रदान गर्दै आएको छ।

कम्पनीले यस एकीकृत ब्रान्ड संरचनामार्फत नेपालमा पर्यटन तथा आतिथ्य सेवाको गुणस्तर र अन्तर्राष्ट्रिय स्तरको अनुभवलाई थप विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

  • Clock icon
    २०८३ जेष्ठ १५, शुक्रबार