काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्य अर्गनाइजेसन नेपालका लागि भारतीय प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभोइलेटको आधिकारिक वितरक तथा आयातकर्ता नियुक्त भएको छ। यससँगै नेपालमा अल्ट्राभोइलेटका इलेक्ट्रिक मोटरसाइकलहरूको बिक्री तथा सेवा विस्तार अब वैद्य अर्गनाइजेसनमार्फत हुने भएको छ।
यसअघि नेपालमा अल्ट्राभोइलेट मोटरसाइकल केडिया ग्रुपमार्फत बिक्री हुँदै आएको थियो। अब भने वैद्य अर्गनाइजेसनले प्रिमियम इलेक्ट्रिक मोटरसाइकल बजारलाई नयाँ ढंगले विस्तार गर्ने तयारी गरेको छ। कम्पनीले देशभर प्रिमियम शोरुम अनुभव, आधुनिक सर्भिस पूर्वाधार र बिक्रीपछिको सेवा नेटवर्कलाई सुदृढ बनाउने लक्ष्य लिएको छ।
अल्ट्राभोइलेटका सीईओ तथा सह–संस्थापक नारायण सुब्रमण्यमले वैद्य अर्गनाइजेसनसँगको साझेदारीले नेपालमा ब्रान्डको उपस्थिति थप मजबुत हुने विश्वास व्यक्त गरेका छन्। उनले एफ७७ सिरिजसहितका फ्ल्यागसिप उत्पादनमार्फत अन्तर्राष्ट्रिय स्तरको प्रविधि र प्रदर्शन नेपालमा विस्तार गर्ने योजना रहेको बताए।
वैद्य अर्गनाइजेसनका सीईओ सूर्यांश वैद्यले यो साझेदारीसँगै नेपालको इलेक्ट्रिक मोटरसाइकल बजार नयाँ युगमा प्रवेश गर्ने दाबी गरेका छन्। उनका अनुसार ग्राहकहरू अब केवल यातायात होइन, प्रविधि, डिजाइन र प्रिमियम अनुभवसहितको सवारी खोजिरहेका छन्, जसलाई अल्ट्राभोइलेटले पूरा गर्नेछ।
कम्पनीले चाँडै अल्ट्राभोइलेटको बहुप्रतिक्षित एक्स४७ क्रसओभर मोटरसाइकल नेपालमा भित्र्याउने तयारी गरेको छ। यो मोडल आफ्नो सेगमेन्टमा इण्टिग्रेटेड राडार भएको विश्वकै पहिलो मोटरसाइकलका रूपमा परिचित छ। यसको प्री–बुकिङ पनि छिट्टै सुरु हुने जनाइएको छ।
यससँगै एफ७७ ओरिजिनल र एफ७७ रिकन मोडलको बुकिङ पनि खुलाइएको छ। एफ७७ ओरिजिनलको मूल्य ८ लाख ११ हजार रुपैयाँ र रिकन मोडलको मूल्य ९ लाख ६९ हजार रुपैयाँ तोकिएको छ।
एफ७७ मोटरसाइकलमा १०.३ किलोवाट आवरको ब्याट्री, ३० किलोवाटको मोटर र १०० न्युटन मिटर टर्क रहेको छ। यसले ० देखि ६० किलोमिटर प्रतिघण्टा गति केवल २.८ सेकेन्डमा हासिल गर्न सक्छ भने यसको अधिकतम गति १५५ किलोमिटर प्रतिघण्टा रहेको छ।
यसमा ३९–लेभल ट्र्याक्सन कन्ट्रोल, १०–लेभल रिजेनेरेटिभ ब्रेकिङ, डाइनामिक स्टेबिलिटी कन्ट्रोल तथा हिल होल्ड फिचरजस्ता आधुनिक सुरक्षा र नियन्त्रण प्रणाली समावेश छन्, जसले राइडिङ अनुभवलाई अझ सुरक्षित र सहज बनाउने कम्पनीको भनाइ छ।
वैद्य अर्गनाइजेसनको प्रवेशसँगै नेपालको इलेक्ट्रिक मोटरसाइकल बजारमा प्रतिस्पर्धा र प्रविधि दुवै नयाँ चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।
