काठमाडौं । राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस २०८३ उत्साहपूर्वक मनाइएको छ। राष्ट्रिय एकता, शान्ति र लोकतान्त्रिक उपलब्धिको स्मरण गर्दै आयोजित कार्यक्रममा विविध औपचारिक तथा सांस्कृतिक गतिविधिहरू प्रस्तुत गरिएका थिए।
समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट “गणतन्त्र दिवस २०८३” लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो भने आकाशबाट पुष्पवृष्टि पनि गरिएको थियो। त्यस अवसरमा राष्ट्रिय झण्डा फहराइयो र शान्तिको कामना गर्दै परेवा उडाइयो।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा काठमाडौं महानगर प्रहरी बलका तर्फबाट संयुक्त ‘मार्चपास’ प्रदर्शन गरिएको थियो। साथै काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहबाट मुलुकको मौलिक कला र संस्कृतिलाई झल्काउने झाँकीहरू प्रस्तुत गरिएका थिए।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल तथा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो।
त्यसैगरी विभिन्न मन्त्रीहरू, उच्च सरकारी अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको समेत सहभागिता रहेको थियो। समारोहले गणतन्त्र दिवसलाई राष्ट्रिय गौरव, एकता र उपलब्धिको उत्सवका रूपमा प्रस्तुत गरेको देखिएको छ।
