आज द रिट्ज कार्लटन र चौधरी ग्रुपबिच सम्झौता

नेपालको पर्यटन तथा होटल उद्योगले अर्को महत्त्वपूर्ण अन्तर्राष्ट्रिय ब्रान्ड भित्रिने भएको छ।

नेपालको अग्रणी व्यवसायिक घराना चौधरी ग्रुपले विश्वप्रसिद्ध होटल कम्पनी म्यारियट इन्टरनेसनल अन्तर्गतको अल्ट्रा-लक्जरी ब्रान्ड ‘द रिट्ज(कार्लटन’ नेपालमा सञ्चालन गर्ने तयारी गरेको हो। यससम्बन्धी रणनीतिक साझेदारी सम्झौता आज आइतबार काठमाडौंमा सम्झौता भएको छ ।

करिब १० करोड अमेरिकी डलर (१३ अर्ब रुपैयाँभन्दा बढी) लगानी रहने उक्त परियोजनालाई नेपालको पर्यटन क्षेत्रमा हालसम्मकै महत्त्वपूर्ण लक्जरी आतिथ्य लगानीमध्ये एकका रूपमा हेरिएको छ।

परियोजनामा चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलसँगै आईजे ग्रुपका रविन्द्र श्रेष्ठ, शर्मा एन्ड कम्पनीका सौरव शर्मा, अमृत शाक्य र सञ्चित श्रेष्ठको समेत साझेदारी रहेको छ।

परियोजनाअन्तर्गत काठमाडौंको प्रमुख व्यावसायिक तथा पर्यटकीय क्षेत्र कान्तिपथमा करिब ९ रोपनी क्षेत्रफलमा १५० कोठा क्षमताको अल्ट्रा(लक्जरी होटल निर्माण हुनेछ।

होटलसँगै ब्रान्डेड रेसिडेन्स, व्यावसायिक कम्प्लेक्स तथा क्यासिनोसमेत विकास गरिने योजना छ। परियोजना सन् २०२९ को मध्यसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

निर्माण सम्पन्न भएपछि होटलको एक रातको कोठा शुल्क एक हजार अमेरिकी डलरभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ। यसले नेपालमा उच्च खर्च गर्ने पर्यटकलाई आकर्षित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

पर्यटन व्यवसायीहरूका अनुसार नेपालमा पाँचतारे होटलहरूको संख्या बढ्दै गए पनि विश्वका शीर्ष लक्जरी ब्रान्डहरूको उपस्थिति अझै सीमित रहेको अवस्थामा रिट्ज(कार्लटनको आगमनले नेपाली पर्यटन उद्योगको छवि उकास्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

रिट्ज-कार्लटन विश्वकै प्रतिष्ठित होटल ब्रान्डमध्ये एक मानिन्छ। सन् १९८३ मा स्थापित यो ब्रान्ड हाल ३० भन्दा बढी देशमा १०८ भन्दा बढी होटल तथा रिसोर्टमार्फत सञ्चालनमा छ। उच्चस्तरीय सेवा, विलासी सुविधाहरू र विशिष्ट अतिथि अनुभवका कारण रिट्ज९कार्लटनलाई अन्तर्राष्ट्रिय आतिथ्य उद्योगको प्रिमियम ब्रान्डका रूपमा चिनिन्छ।

यो परियोजनाले नेपाललाई हिमाल, पदयात्रा र सांस्कृतिक पर्यटनको गन्तव्यबाट लक्जरी पर्यटनको केन्द्रका रूपमा समेत स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। पछिल्ला वर्षहरूमा नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन, उच्चस्तरीय व्यवसायिक कार्यक्रम तथा विलासी पर्यटनको सम्भावना बढ्दै गएकाले यस्ता होटल परियोजनाले नयाँ बजार सिर्जना गर्न सक्ने व्यवसायीहरूको विश्वास छ।

परियोजनासँगै म्यारियट इन्टरनेसनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट स्वयं काठमाडौं आएका छन्। चौधरी ग्रुप र म्यारियटबीचको साझेदारी कार्यक्रमका लागि उनको नेपाल भ्रमणलाई अन्तर्राष्ट्रिय होटल उद्योगले चासोका साथ हेरेको छ।

डेभिड म्यारियट सन् २०२२ देखि म्यारियट इन्टरनेसनलको बोर्ड अध्यक्ष छन्। उनी कम्पनीका संस्थापक परिवारको तेस्रो पुस्ताका प्रतिनिधि हुन्।

म्यारियटको झन्डै एक शताब्दी लामो इतिहासमा नेतृत्व सम्हाल्ने तेस्रो पुस्ताका अध्यक्षका रूपमा उनी परिचित छन्।