राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

राहदानी छपाइसँग सम्बन्धित ठेक्का प्रक्रियामा अनियमितता भएको आशंकामा अनुसन्धान अघि बढाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

अख्तियार निकट स्रोतका अनुसार अर्याललाई आइतबार राति अनुसन्धानका लागि पक्राउ गरिएको हो। राहदानी छपाइ ठेक्का प्रक्रियासम्बन्धी विभिन्न पक्षमाथि आयोगले छानबिन गरिरहेको बताइएको छ।

यसै प्रकरणमा अमृतबहादुर राई तथा ठेकेदार सिद्धार्थ थापा पनि अनुसन्धानको दायरामा रहेका छन्। स्रोतका अनुसार थापासँग सोमबार आयोगले सोधपुछ गरेको थियो। प्रारम्भिक बयानपछि आवश्यक परे पुनः उपस्थित हुने सर्तमा उनलाई घर फर्किन अनुमति दिइएको जनाइएको छ।

सिद्धार्थ थापा नेपाली कांग्रेसका सांसद सुनीलबहादुर थापाका छोरा तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति हुन्।

अख्तियारले अनुसन्धान जारी रहेको भन्दै यसबारे विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।